२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन तयारीलाई अघि बढाउँदै जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार विभिन्न जिल्लामा प्रतिनिधि खटाएको हो।
समितिका अनुसार जिल्लादेखि वडा तहसम्म हुने अधिवेशनका लागि आवश्यक तयारी गर्न ३ असोजभित्र तयारी समितिहरू गठन गर्ने गरी प्रतिनिधि परिचालन गरिएको छ। जिल्ला, प्रदेशसहित कांग्रेसका विभिन्न ६ तहका अधिवेशनलाई लक्षित गर्दै तयारी अघि बढाइएको जनाइएको छ।
सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलले जारी गरेको विज्ञप्तिमा पार्टीको आधिकारिकताको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा विशेष महाधिवेशन पक्षले छुट्टै कार्यतालिका सार्वजनिक गरेर गतिविधि अघि बढाएको उल्लेख छ।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक जिम्मेवारी रहेको दाबी गर्दै आफ्नो पक्षबाट महाधिवेशन तयारीलाई तीव्रता दिएको हो।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्