हेटौंडा । भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटको सडक सम्पर्क पुनःस्थापित गर्न भारत सरकारले नेपाललाई तीन वटा बेलिब्रिज उपलब्ध गराएको छ।
भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावासका प्रतिनिधि नारायण सिंहले कार्यालय प्रमुख किरण कार्कीलाई तीनवटै बेलिब्रिज हस्तान्तरण गरे।
सिंहका अनुसार प्रत्येक बेलिब्रिज ७० मिटर लामो छ। बाढीका कारण पक्की पुलमा क्षति पुगेपछि अवरुद्ध सडकमार्गलाई तत्काल सञ्चालनमा ल्याउन ती बेलिब्रिज प्रयोग गरिनेछन्।
यसअघि पनि भारतले सडक डिभिजन कार्यालय हेटौंडामार्फत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रयोग गर्न १० वटा बेलिब्रिज उपलब्ध गराएको थियो।
मकवानपुर–१ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतमले विपद्का समयमा भारतले गरेको सहयोगप्रति धन्यवाद दिँदै रसुवा र नुवाकोटमा थप बेलिब्रिज आवश्यक रहेको बताए।
सडक विभागका अनुसार गत भदौ १० गते आएको बाढीबाट रसुवादेखि चितवनसम्म ४१ वटा मोटरेबल पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पुलहरू क्षतिग्रस्त भएपछि विभिन्न स्थानको यातायात सम्पर्क प्रभावित बनेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्