वाईसिएल नेपालको ‘एक हजार अस्थायी आवास’ अभियान, नुवाकोटको बेलकोटगढी -७ बाट सुरु

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २७, शनिबार २१:३९

नुवाकोट । बाढी तथा पहिरोका कारण घरमा क्षति पुगेका र आवासविहीन बनेका परिवारलाई लक्षित गर्दै वाईसिएल नेपालले देशभर एक हजार अस्थायी आवास निर्माण गर्ने अभियान थालेको छ।


अभियानको पहिलो चरण नुवाकोटको बेलकोटगढी -७ बाट सुरु गरिएको हो। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जस्तापाता, ट्रससहितका निर्माण सामग्री हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो।


प्राकृतिक विपत्तिका कारण सुरक्षित बसोबासको समस्या झेलिरहेका परिवारलाई तत्काल अस्थायी आश्रय उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको वाईसिएल नेपालले जनाएको छ। अभियानअन्तर्गत संगठनमा आबद्ध युवाहरूले श्रमदान गर्दै प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्नेछन्।


वाईसिएलले विपद्का समयमा राहत सामग्री वितरणमा मात्र सीमित नभई प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणमा समेत प्रत्यक्ष सहभागिता जनाउने जनाएको छ। युवाहरूको श्रम र स्थानीय समुदायको सहभागितामार्फत प्रभावित परिवारलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्ने अभियानको लक्ष्य रहेको बताइएको छ।


बाढी तथा पहिरोपछि विस्थापित परिवारको आवासीय समस्या समाधानमा अभियानले सहयोग पुर्‍याउने र पुनःस्थापनाको कामलाई थप गति दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *