काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ।
महाशाखाका अनुसार अहिले देशका सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
पहाडी तथा तराई भूभागका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ। कोशी प्रदेशको तराई क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्