काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएको छ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा आवश्यक खर्च व्यवस्थापनका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक रु. १५ हजार उपलब्ध गराइनेछ। चार जनाभन्दा बढी सदस्य रहेको परिवारमा थप प्रत्येक सदस्यका लागि रु. २ हजार थप रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ।
यदि कुनै परिवारले आवास भाडाबापतको सुविधा लिन नचाहेमा स्थायी आवास निर्माण नभएसम्म सरकारले नै अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत उपलब्ध गराएको छ। यसका लागि आवश्यक विवरण संकलन गर्न सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको सरकारले जनाएको छ।
सरकारले प्रारम्भिक क्षति तथा नोक्सानी मूल्याङ्कन सम्पन्न गरिसकेको छ भने विस्तृत आवश्यकता मूल्याङ्कन (PDNA) को प्रक्रिया जारी रहेको जनाएको छ। PDNA बाट प्राप्त विवरणका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइने सरकारको भनाइ छ।
रसुवा, नुवाकोटलगायत भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको सुरक्षित पुनर्स्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा प्रभावित परिवारको जीवनयापन पुनःस्थापनामा सरकार प्रतिबद्ध रहेको जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्