काठमाडौं । छापा सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको भन्दै लोककल्याणकारी विज्ञापनबापत उपलब्ध हुँदै आएको रकम कटौती नगर्न माग गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसमक्ष आग्रह गरिएको छ।
नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश कमिटीको तर्फबाट गठित छापा माध्यम बचाउ सुझाव कार्यदलका प्रतिनिधिले आइतबार एमाले केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष ओलीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन्।
भेटका क्रममा कार्यदलले छापा सञ्चारमाध्यमले पछिल्लो समय भोगिरहेका आर्थिक समस्या, चुनौती तथा सञ्चार क्षेत्रको दिगोपनाका विषयमा अध्यक्ष ओलीलाई जानकारी गराएको थियो।
कार्यदलले लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिए छापा माध्यमको नियमित प्रकाशनसँगै पत्रकार तथा कर्मचारीको रोजगारीमा समेत प्रत्यक्ष असर पर्ने जनाएको छ। त्यसैले छापा सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि राज्यले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन र रकम कटौती नगर्न सरकारको ध्यानाकर्षण गराइएको हो।
कार्यदलका संयोजक दामोदर दवाडीसहितको प्रतिनिधिमण्डलले छापा सञ्चारमाध्यमको वर्तमान अवस्था, आर्थिक सङ्कट तथा सञ्चार क्षेत्रलाई दीगो बनाउन आवश्यक नीतिगत व्यवस्थाका विषयमा पनि अध्यक्ष ओलीसँग छलफल गरेको थियो।
सो अवसरमा अध्यक्ष ओलीले आफू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोककल्याणकारी विज्ञापनको पक्षमा रहेको स्पष्ट पार्नुभएको कार्यदलले जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्