काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष अर्थात् देउवा समूहले असोज ३ गतेदेखि सुरु हुने भनिएको विशेष महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ।
१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले आज साेमबार पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्ति जारी गर्दै उक्त महाधिवेशनले पार्टीभित्र थप विवाद र विभाजन निम्त्याउने भन्दै त्यसमा सहभागी नहुन आग्रह गरेका हुन्।
कोइरालाले कांग्रेसभित्रको वर्तमान विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र नभई पार्टीको वैधानिकता, लोकतान्त्रिक मूल्य–मान्यता, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न भएको बताएका छन्।
उनले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा वार्ता र संवादमार्फत सहमति खोज्नुपर्नेमा जोड दिएका छन्। अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अघि बढ्नु उचित नहुने उनको भनाइ छ।
विज्ञप्तिमार्फत कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि हुने वडा तहदेखि विभिन्न तहका अधिवेशनमा सक्रिय सहभागी हुन पनि आग्रह गरेका छन्।
त्यस्तै, मंसिर २१, २२ र २३ गते सम्पन्न हुने १५औँ केन्द्रीय महाधिवेशनलाई सफल बनाउन कांग्रेसका नेता–कार्यकर्तालाई अपिल गरिएको छ।
कोइरालाले पद बाँडफाँडलाई विवाद समाधानको आधार बनाउनु कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारविपरीत हुने बताएका छन्। पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नुपर्नेमा उनले जोड दिएका छन्।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्