कांग्रेस विवाद अन्त्य गरी एकताबद्ध हुन देउवाको ७ बुँदे अपिल,मंसिरमा हुने महाधिवेशनमा जुट्न आग्रह (अपिलसहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३०, मंगलवार १६:३४


कांग्रेस विवाद अन्त्य गरी एकताबद्ध हुन देउवाको ७ बुँदे अपिल
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको आन्तरिक विवाद र असमझदारी अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

देउवाले मंगलबार ७ बुँदे अपिल जारी गर्दै कांग्रेसभित्र पछिल्लो समय देखिएको विवादप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्। उनले पार्टीको विधि, विधान, पद्धति र परम्पराविपरीत केन्द्रीय समितिको निर्णयलाई बेवास्ता गर्दै संस्थापन पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको आरोप लगाएका छन्।


विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु राजनीतिक, नैतिक, कानुनी तथा संवैधानिक दृष्टिले उपयुक्त नभएको बताएका छन्।


देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको देउवाको भनाइ छ। आफूलाई कुनै पद वा जिम्मेवारीप्रति लोभ नरहेको पनि उनले स्पष्ट पारेका छन्।


देउवाले पछिल्ला ३५ वर्षमा मुलुकले हासिल गरेका विकास, परिवर्तन र उपलब्धिको तुलनात्मक समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। उपलब्धिमा मात्र सन्तुष्ट भएर बस्ने अवस्था नरहेको भन्दै उनले जनताको अपेक्षा पूरा गर्न, सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न र आर्थिक समृद्धि हासिल गर्न अझ धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन्।


उनले कांग्रेसभित्रको वर्तमान मतभेद अन्त्य गरी एकता, सहमति र सहकार्यका आधारमा आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।


तर कांग्रेस संस्थापन पक्षले भने असोजमै विशेष महाधिवेशन गर्ने प्रक्रिया अघि बढाइरहेको छ। यही विषयलाई लिएर पार्टीभित्र विवाद चर्किएको अवस्थामा देउवाको पछिल्लो अपिल आएको हो।
भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिको प्रसंगसमेत उल्लेख गर्दै देउवाले संकटका बेला सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवाला एकजुट भएर प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा लाग्नुपर्ने बताएका छन्।

देउवाले दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवाला एक भएर अघि बढ्नुपर्ने पनि बताएका छन् ।

808461769_1103817215427045_7804669158867306773_n

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *