बैंकिङ कसुर मुद्दामा किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ ४० हजार धरौटीमा, पुनः पक्राउ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३०, मंगलवार १९:१२



काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई बैंकिङ कसुर मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेको छ।

अरुण अर्याल जाहेरवाला रहेको ५ लाख २५ हजार रुपैयाँ बिगो दाबी गरिएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले मंगलबार तामाङलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।


तर, अदालतले धरौटीमा रिहा गर्न आदेश गरेलगत्तै प्रहरीले तामाङलाई पुनः पक्राउ गरेको छ। अन्य मुद्दामा बयान तथा अनुसन्धान बाँकी रहेकाले उनलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ।


पक्राउपछि तामाङलाई प्रहरी वृत्त दरबारमार्गमा लगिएको छ। उनलाई बुधबार पुनः अदालतमा उपस्थित गराइने प्रहरी वृत्त दरबारमार्गका एक अधिकृतले रातोपाटीलाई जानकारी दिएका छन्।
तामाङलाई यसअघि पनि बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *