काठमाडौं । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली राजनीतिका त्याग र साहसका प्रतीक गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
सिंहको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
२०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए। तर, उनले उक्त प्रस्ताव अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए।
विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो। उनले प्रजा परिषद्को सदस्यका रूपमा राणाशासनविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
२००७ सालअघि भद्रगोल जेलबाट भागेर भारत पुगेका सिंहले त्यहाँ बीपी कोइरालासँग राजनीतिक सम्बन्ध स्थापित गरेका थिए। २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वसमेत उनले गरेका थिए।
२००७ सालको प्रजातन्त्र स्थापनाका लागि भएको क्रान्तिमा वीरगन्ज मोर्चामा सशस्त्र संघर्षको नेतृत्व गरेका सिंह २०१५ सालको पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बनेका थिए।
२०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उनले सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा करिब आठ वर्ष काराबास जीवन बिताए। २०२५ सालमा बीपी कोइरालासँगै सुन्दरीजलबाट रिहा भएपछि उनले प्रवासमा राजनीतिक संगठन विस्तारलाई निरन्तरता दिए।
२०३३ सालमा बीपी कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका सिंहले पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्