कांग्रेस एकताका लागि बद्री पाण्डेको प्रस्ताव : मुद्दा फिर्तादेखि मंसिरमा महाधिवेशनसम्म

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २, शुक्रबार ०८:४८

काठमाडौं । नेपाली कांग्रेसभित्र समानान्तर रूपमा अघि बढिरहेका महाधिवेशनका गतिविधिबीच निवर्तमान सहमहामन्त्री बद्री पाण्डेले पार्टी एकताका लागि नयाँ सूत्र अघि सारेका छन्।

पाण्डेले सामाजिक सञ्जालमार्फत पूर्व संस्थापन पक्षले पार्टीको आधिकारिकतासम्बन्धी अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने र संस्थापन पक्षले १५औँ महाधिवेशन मंसिरमा गर्ने गरी सहमतिको बाटो खोज्नुपर्ने प्रस्ताव गरेका हुन्।


उनले दुवै पक्षलाई आ–आफ्नो ठाउँबाट सुझाव र दबाब दिने अभियान चलाउनु उपयुक्त हुने बताएका छन्। पार्टी, लोकतन्त्र र मुलुकको हित चाहने सबैले एकताको वातावरण बनाउन भूमिका खेल्नुपर्ने उनको भनाइ छ।


पाण्डेको प्रस्ताव कांग्रेसभित्र महाधिवेशनका लागि दुई छुट्टाछुट्टै कार्यतालिका अघि बढिरहेका बेला आएको हो। संस्थापन पक्षले असोज ३ र ४ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ।
यता पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।


यसरी दुई पक्ष आ–आफ्नै कार्यतालिकाअनुसार अघि बढेपछि कांग्रेसभित्र एकताको सम्भावना र महाधिवेशनको वैधानिकताबारे बहस थप पेचिलो बनेको छ। यसअघि पनि कांग्रेसका नेताहरूले दुवै पक्षलाई कार्यतालिका स्थगित गरी संवाद र सहमतिमार्फत अघि बढ्न आग्रह गरेका थिए।


पाण्डेको प्रस्तावले भने ‘अदालतको विवाद टुंग्याउने र महाधिवेशनको मिति पछाडि सार्ने’ विषयलाई सम्भावित सहमतिको आधारका रूपमा अघि सारेको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *