नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा संस्थापन पक्षभित्रै दुई प्यानल बनेर प्रतिस्पर्धा हुने भएको छ। क्षेत्रीय अध्यक्षसहित क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा केसी र लामा पक्षले छुट्टाछुट्टै प्यानल बनाएपछि संस्थापन पक्षभित्रको आन्तरिक ध्रुवीकरण सतहमा आएको हो।
केसी प्यानलबाट क्षेत्रीय अध्यक्षमा आशा तामाङ उम्मेदवार बनेका छन्। तामाङ यसअघि बहादुरसिंह लामा निकट मानिन्थे। अहिले उनी केसी प्यानलबाट उम्मेदवार बनेपछि नुवाकोट–२को माथिल्लो भेगमा बहादुरसिंह लामाको प्रभावबारे समेत कांग्रेस वृत्तमा चर्चा सुरु भएको छ। तामाङ म्यागङ गाउँ पालिका अध्यक्ष हुन ।
यता बहादुरसिंह लामा निकट मानिने सिंहराज तामाङ लामा प्यानलबाट क्षेत्रीय अध्यक्षका उम्मेदवार बनेका छन्। तामाङ यसअघि तरुण दलको अध्यक्षसमेत थिए। उनलाई संस्थापन पक्षले जानकारी नदिई पदबाट हटाएको विषय पनि पछिल्लो समय कांग्रेसभित्र चर्चामा रहेको छ।
क्षेत्रीय अधिवेशनमा दुवै समूहले क्षेत्रीय कार्यसमिति र प्रदेश कार्यसमितिका साथै महाधिवेशन प्रतिनिधिसम्म प्यानल बनाएर उम्मेदवारी अघि बढाएका छन्। करिब एक सातादेखि सहमतिको प्रयास गरिए पनि आकांक्षीको संख्या धेरै हुनु र पद बाँडफाँटमा सहमति जुट्न नसक्दा अन्ततः प्यानल बनाएर निर्वाचनमा जाने अवस्था बनेको हो।
नुवाकोट कांग्रेसमा संस्थापन पक्षभित्रै देखिएको यो विभाजनलाई पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमसँग जोडेर समेत हेरिएको छ। विदुरमा बहादुरसिंह लामा निकट मानिएका बद्री रिमाल पराजित भएपछि विगतमा भएका कतिपय सहमति प्रभावित भएको कांग्रेसका स्थानीय नेताहरूको बुझाइ छ।
क्षेत्रीय अधिवेशनमा देखिएको प्रतिस्पर्धाले जिल्ला संस्थापन पक्षभित्रको शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने देखिएको छ। विशेषगरी नुवाकोट–२ को माथिल्लो भेगमा कसको प्रभाव बलियो छ भन्ने विषयमा आशा लामा र सिंहराज तामाङबीचको प्रतिस्पर्धालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यसपटक क्षेत्रीय नेतृत्वसँगै महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमितिमा समेत प्यानलसहित प्रतिस्पर्धा भएकाले निर्वाचनको परिणामले नुवाकोट कांग्रेसको आगामी आन्तरिक समीकरणमा समेत प्रभाव पार्ने कांग्रेस नेताहरू बताउँछन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्