नुवाकोट । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको ध्रुवीकरण नुवाकोटमा थप गहिरिँदै गएको छ। विशेष महाधिवेशनपछि जिल्लामा नेता तथा कार्यकर्ता दुई ध्रुवमा विभाजित भइरहेका बेला संस्थापनपक्षमै रहेका विदुर क्षेत्रका करिब ५० जना नेता–कार्यकर्ता समूहबाट अलग हुने तयारीमा रहेको दाबी गरिएको छ।विद्राेह स्वरुप विदुर १ का गाेकर्ण थपलियाले संस्थापनकाे क्षेत्रीय प्रतिनिधि छाडेर इतरपक्षकाे वडा सभापति बनेका छन् ।
कांग्रेसको आन्तरिक विवाद र गुटगत प्रतिस्पर्धाका कारण जिल्लाको राजनीति अहिले गम्भीर मोडमा पुगेको नेताहरूले बताएका छन्। एक पक्षले अर्को पक्षको प्रभाव कमजोर पार्ने प्रयास गरिरहेको भन्दै नेता–कार्यकर्तामा असन्तुष्टि बढेको बताइएको छ।
नुवाकोटमा विशेषगरी संस्थापनपक्षका नेता अर्जुननरसिंह केसी र बहादुरसिंह लामा पक्षबाट भइरहेको हस्तक्षेपकारी राजनीतिप्रति असन्तुष्ट बनेका संस्थापननिकट केही पुराना तथा प्रभावशाली नेता–कार्यकर्ताले अब छुट्टै राजनीतिक बाटो रोज्ने तयारी गरेको बताइएको छ।
विदुरका पुराना प्रभावशाली नेताहरूले संस्थापन समूहबाट विद्रोह गरी नयाँ समूह निर्माण गर्नेभन्दा पनि शेरबहादुर देउवाको नेतृत्वमा हुने नियमित महाधिवेशनमा सहभागी हुने तयारी गरेको कांग्रेस संस्थापनइतर पक्षका संयोजक श्रीराम श्रेष्ठले नुवाकोट पुकारलाई जानकारी दिए।
श्रेष्ठका अनुसार यसबारे औपचारिक घोषणा भने शुक्रबार मात्रै गरिनेछ। विदुर क्षेत्रबाट करिब ५० जना नेता–कार्यकर्ता संस्थापन समूहबाट बाहिरिने तयारीमा रहेको उनको दाबी छ।
यसैबीच कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोटमा क्षेत्रीय अधिवेशनसमेत गुटगत प्रतिस्पर्धाका कारण प्रभावित भएको छ। संस्थापनपक्षमा धेरै आकांक्षी र छुट्टाछुट्टै टिम बनेपछि निर्वाचन व्यवस्थापनमा समेत समस्या देखिएको बताइएको छ।
क्षेत्रीय प्रतिनिधिहरूमा समेत अन्योल बढेपछि कतिपय प्रतिनिधि अधिवेशनस्थलबाट घर फर्किएका छन्। नुवाकोट क्षेत्र नं. २ मा भने क्षेत्रीय अधिवेशनको निर्वाचन शुक्रबार मात्रै हुने तयारी छ।
जिल्ला तहमा समेत संस्थापनपक्षभित्रै दुई टिमबीच प्रतिस्पर्धा देखिएपछि नुवाकोट कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बनेको छ। आगामी दिनमा विदुरका असन्तुष्ट नेता–कार्यकर्ताको निर्णयले जिल्लाको शक्ति समीकरणमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्