काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा मंगलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ।
बडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरूप नौ जना कन्याको पूजा गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलको उपस्थितिमा नवकन्याको पूजा गर्नुभएको हो।
हिन्दू धार्मिक परम्पराअनुसार दुर्गा भगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको प्रतीकका रूपमा नवकन्याको पूजा गर्ने गरिन्छ।
पूजाका क्रममा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका तथा पूजा गर्नुभएको थियो। उहाँले नवकन्यालाई उपहारसमेत प्रदान गर्नुभएको थियो।
बडादसैँमा नवकन्याको पूजा गरी शक्ति, समृद्धि, सुख–शान्ति र शुभफलको कामना गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्