नुवाकोट । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै विद्यालय, विद्यार्थी तथा उनीहरूको शैक्षिक जीवनमा समेत गम्भीर असर पारेको छ। बाढीका कारण घरबार गुमाएका तथा विस्थापित परिवारका बालबालिकाको पढाइ प्रभावित भइरहेका बेला विभिन्न व्यक्ति तथा संस्थाले सहयोग अभियानलाई निरन्तरता दिएका छन्।
यसैक्रममा सुभेनियर बोर्डिङ स्कुलमा अध्ययनरत ९३ जना बाढीपीडित परिवारका छोराछोरीलाई विद्यालय झोला तथा सरसफाइका सामग्री वितरण गरिएको छ। बाढीबाट प्रभावित विद्यार्थीलाई अध्ययनमा आवश्यक सामग्री उपलब्ध गराउँदै उनीहरूको शैक्षिक निरन्तरता सहज बनाउन सहयोग गरिएको हो।
गेर्खु–११ का रामकुमार ल्हो तामाङ र हरिचन्द्र तामाङले बाढीपीडित विद्यार्थीका लागि विद्यालय झोला तथा सरसफाइका सामग्री उपलब्ध गराएकाे विद्यालयका निर्देशक रामकृष्ण राजभण्डारीले जानकारी दिनुभयो । सहयोगले बाढीका कारण कठिन परिस्थितिमा रहेका विद्यार्थीलाई विद्यालय फर्किन र नियमित अध्ययनमा जोडिन थप हौसला मिल्ने अपेक्षा गरिएको छ।
सहयोगका लागि विद्यालयले रामकुमार ल्हो तामाङ र हरिचन्द्र तामाङप्रति धन्यवाद व्यक्त गरेको छ। सहयोग कार्यक्रमको सहजीकरण गरिदिने ज्ञानेन्द्र घलेप्रति समेत विद्यालयले कृतज्ञता व्यक्त गरेको छ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रका धेरै परिवार विस्थापित हुँदा बालबालिकाको शिक्षा, शैक्षिक सामग्री र विद्यालयसम्मको पहुँच चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा विद्यार्थीलाई लक्षित गरी हुने सहयोगले तत्कालीन राहतसँगै उनीहरूको शैक्षिक भविष्य जोगाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्