भारतीय विदेश सचिव मिस्री काठमाडौंमा, बिहीबार प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १८, बुधबार १०:२९

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपाल भ्रमणका क्रममा मिस्रीले बुधबार परराष्ट्र सचिव राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष, द्विपक्षीय सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मिस्रीले बुधबार नै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेट गर्ने कार्यक्रम छ। भेटका क्रममा भारतसँग नेपालले प्रस्ताव गरेको आर्थिक प्याकेज, भारतको सहयोगमा सञ्चालित विकास आयोजना र सहकार्यका नयाँ क्षेत्रबारे छलफल हुने बताइएको छ।

त्यस्तै, प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारीबारे पनि छलफल हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीसँगको भेटमा मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निमन्त्रणासमेत हस्तान्तरण गर्ने तयारी छ।

प्रधानमन्त्री शाहको भारत भ्रमण यसै महिनाको अन्त्यतिर हुने अपेक्षा गरिएको छ। दुवै देशले भ्रमणको आन्तरिक तयारी अघि बढाए पनि मिति भने औपचारिक रूपमा सार्वजनिक भएको छैन।

सन् २०२४ जुलाईमा भारतीय विदेश सचिव नियुक्त भएका मिस्रीको यो दोस्रो नेपाल भ्रमण हो। भारतीय विदेश मन्त्रालयले भ्रमणका क्रममा द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल हुने जनाएको छ।

यसअघि गत मे महिनाका लागि तय भएको मिस्रीको नेपाल भ्रमण प्रोटोकलसम्बन्धी मतभेदका कारण स्थगित भएको थियो। त्यतिबेला प्रधानमन्त्री शाहले भारतीय विदेश सचिवसँग भेट गर्न अनिच्छा देखाएको विषय सार्वजनिक भएको थियो। लिपुलेक सीमा विवादका कारण पनि दुई देशबीच तनाव बढेको थियो।

गत मे महिनाको पहिलो साता भारतले नेपालको दाबी रहेको लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजना अघि बढाएपछि नेपालले आपत्ति जनाएको थियो। नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने लिपुलेकलाई नेपालले आफ्नो भूभाग दाबी गर्दै आएको छ।

मिस्रीको यस भ्रमणलाई प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारी र नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *