काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित नेपाली काँग्रेस काठमाडौं जिल्ला समितिको नियमित १५औँ अधिवेशनलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै आर्थिक प्रभावका आधारमा पार्टीको आधिकारिकता टुंग्याइएको दाबी गर्नुभएको हो ।
उहाँले निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिइएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै निर्णय प्रक्रियामा अस्वाभाविक गतिविधि भएको टिप्पणी गर्नुभयो ।
एक व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै देउवाले पैसाको बलमा पार्टी नै किन्ने प्रयास भएको आरोप लगाउनुभयो । उहाँले १८ करोड रुपैयाँमा पार्टी बेच्नेहरूले काँग्रेसको संरक्षण गर्न नसक्ने भन्दै सभापति गगनकुमार थापाप्रति लक्षित टिप्पणी गर्नुभयो ।
पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने बताउँदै देउवाले काँग्रेस विधि, विधान र कार्यकर्ताको विश्वासका आधारमा सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो ।
आफूले राजनीतिक जीवनमा धेरै कुरा प्राप्त गरिसकेको उल्लेख गर्दै उहाँले अब व्यक्तिगत स्वार्थभन्दा पार्टी र देशका लागि योगदान गर्ने समय आएको बताउनुभयो ।
देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट न्यायपूर्ण निर्णय आउने विश्वास व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा रुख चुनाव चिह्न लिएर अघि बढ्ने अवसर प्राप्त हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।
पार्टीको पहिचान र चुनाव चिह्न रुख कायम राख्न आफूहरू दृढतापूर्वक अघि बढ्ने उहाँको भनाइ थियो ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्