
काठमाडौँ । नेपाली काँग्रेसले अब बन्ने सरकारमा पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरू छनौट गर्न समावेशिता र प्रादेशिक सन्तुलन लाई मुख्य आधार बनाउने निर्णय गरेको छ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रादेशिक सन्तुलन मिलाएर समावेशी आधारमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू छनौट गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।
कांग्रेस कार्यसम्पादन समितिको बैठकले देशका विभिन्न भागमा भएका प्राकृतिक विपद्का घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै हराइरहेका व्यक्तिहरूको खोजीकार्य तीव्र बनाउन र जोखिमपूर्ण स्थानका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै बैठकले सडक दुर्घटनाको दुःखद अवस्थाको अन्त्यका लागि आवश्यक अध्ययन गरी कानुनी व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकपछि सञ्चारकर्मीहरू सँगको कुराकानीमा काँग्रेसका प्रवक्ता डा महतले सरकारको स्थिरता सुनिश्चित गरी देशलाई गति दिन अन्य राजनीतिक दललाई समेत साथमा लिएर अगाडि बढ्ने र संविधान संशोधन लगायतका विषयहरू सहमतिकै आधारमा टुङ्गोमा पुर्याउने पनि बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको हिजोको बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबिच यही असार १७ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ ।