

काठमाडौं, साउन १७ गते। नेकपा एमाले केन्द्रिय कमिटीको उपाध्यक्षमा गुरु बराल मनोनीत हुनुभएको छ ।
नेकपा एमालेको आज बसेको केन्द्रिय सचिवालय बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य बराललाई नियुक्त गर्ने निर्णय गरेको पार्टीका महासचिव शकर पोखरेलले जानकारी गराउनुभयो ।
बैठकले पार्टी स्थायी कमिटीको सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनयन गरेको महासचिव पोखरेलले बताउनुभयो । यस्तै बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।
यसअघिका लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल र सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टबाहेक इन्चार्जको जिम्मेवारी फेरिएको हो।
कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमती प्रदेशमा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ र कर्णाली प्रदेशमा गोरखबहादुर बोगटी इन्चार्ज बन्नुभएको छ। यसअघि कोशी प्रदेशमा रघुवीर महासेठ, मधेश प्रदेशमा योगेश भट्टराई, गण्डकी प्रदेशमा गुरु बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज हुनुहुन्थ्यो।