

काठमाडौँ । नेपाली कांग्रेसले बङ्गलादेशी नागरिकको लोकतान्त्रिक तथा मानवअधिकारलाई उच्च सम्मान गर्दै आएको र बङ्गलादेशी नागरिकको चाहाना अनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्ब बहाल भई राजनीतिक संक्रमण अन्त्य हुने विश्वास लिएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकले मित्रराष्ट्र बङ्गलादेशमा केही हप्तादेखि विकसित राजनीतिक घटनाक्रमलाई पार्टीले नजिकबाट नियालिरहेको भन्दै नेपाली काँग्रेस सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बङ्गलादेशको पक्षमा रहेको स्पष्ट पनि पारेको छ । साथै बैठकले बङ्गलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस्तै बङ्गलादेशमा भएको विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक विशेष गरी हिन्दु र बुद्धिस्ट समुदायमाथि आक्रमण गरिएका घटनाप्रति चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न र धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने विश्वास समेत नेपाली काँग्रेसले लिएको विज्ञप्तिमा उल्लेख छ ।
साउन २३ गतेदेखि सुरु भएको बैठकमा आज पनि ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको नेपाली काँग्रेसले जनाएको छ ।नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक साउन २७ गते आइतबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।