
नुवाकोट । आफूलाई प्रहरी निरीक्षक इन्सपेक्टर हुँ भनेर लुटपाट गर्ने गिरोहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ घर भएका २५ वर्षीय सुमन तामाङ भनिने मिङमार तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सुमनले आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको इन्सपेक्टर भएको बताउँदै लुटपाट गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
२२ साउनमा सुमनले काभ्रे घर भई डल्लुमा बस्दै आएका तीर्थलाल तमााङलाई आफू इन्सपेक्टर भएको बताउँदै १ तोलाको सुनको सिक्री र नगद ६७ हजार लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।
लुटपाट भएपछि तीर्थलालले प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । लुटपाट गरेको सुनको सिक्री उनले बलबहादुरलाई बेचेको पाइएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । बलबहादुरको गोंगबुमा बाग्लुङ भगवती सुनचाँदी पसल छ ।
लुटपाटमा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
मोटरसाइकलमा प्रयोग भएको नम्बर प्लेट समेत उनले नक्कली हालेको खुलेको छ । यही शैलीमा सुमनले अन्य व्यक्तिलाई पनि लुटपाट गरेको भन्दै ८ वटा उजुरीसमेत परेको एसपी आचार्यले बताए ।