
शुकदेव दाहाल
नेपाली कांग्रेस पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले वर्तमान सरकारसँग भएको सहमतिलाई निरन्तरता , संविधान संशोधन र क्रियाशिल सदस्यता वितरणका मुख्य विषयमा जोड दिएको छ । कांग्रेसले संविधान संशोधनलाई पनि पार्टीको बटमलाइन बनाएको छ । त्यसका लागि कार्यदल गठन गर्ने भनिएको छ । यस्तै क्रियाशिल सदस्य नविकरणको तथा नयाँ सदस्य थप गर्ने काम असोज मसान्तसम्म सक्ने भनिएको छ । यस्तै प्रदेशसभामा भएको अराजकताका विषयमा पाटीबाट निर्वाचित हरुलाई सचेत गराउने निर्णय पनि गरिएको छ ।
यसअघि पार्टी बैठकमा महामन्त्री गगन थापाले पेश गर्नुभएको पार्टीका विभिन्न १३ ओटा एजेण्डाकासाथ अन्य आफ्ना व्यक्तिगत रुपमा मन लागेका कूराहरुपनि केन्द्रीय सदस्यहरुले राख्ने क्रम चलिरहेकै छ । बैठकमा कतिपय नेताहरुले लिखित रुपमा आफ्नो धारण राखेका थिए भने कतिपयले बुँदा टिपोट गर्दै आफ्नो धारणा राखेका थिए ।
बैठकमा मुख्यत उठेका विचारहरुले कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने नै देखिन्छ । तर कतिपय नेताहरु एकअर्काप्रति खरो रुपमा भएको विचारले बाहिर धेरै चर्चा पाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा निलम्बिन सांसद जो कांग्रेसका एक लडाकू पनि हुन उनले पार्टी महामन्त्रीका कारण आफूलाई अख्तियारले मुद्दा चलाएको कुरा उठाएपनि त्यो कूराले बैठकमा भन्दा बाहिर चर्चा पाएको छ । सामाजिक सञ्जालदेखि युटुवमा समेत यसै विषयलाई जोडेर कांग्रेसप्रति कटाक्ष वा व्यक्त गरिएको छ । बस्नेतको भनाईलाई महामन्त्री थापाले सटिक रुपमा मात्रै जवाफ फर्काएका छन् । यस्तै पार्टीका नेता भनौं वा डलर अर्बपतिका रुपमा चिनिएका विनोद चौधरीका विषयमा पार्टी सभापति जस्तो जिम्मेवार पदमा निर्वाचन लडेका डा. शेखर कोइरालाले राखेको प्रश्नले झन सामाजिक सञ्जाल तताएको छ ।
कांग्रेस विरोधी पक्षले यस्ता भनाईलाई झन कोड गरेर सार्वजनिक गरिनै रहेका छन् । तर कांग्रेसकै डा. कोइराला पक्षका नेता तथा पत्रकारहरुले समेत विनोद चौधरीलाई खेदो खन्ने काम गरेका छन् । कतिपय पत्रकार तथा कोइराला पक्षका नेताहरुले पूरानो राजनीतिक घराना कोइराला परिवारसँग राजनीतिक रुपमा चौधरीलाई तुलना गर्न नमिल्ने भनेर खेदो खनिरहेका छन् । त्यसको जवाफमा चौधरीले पनि चन्दा लिन लाज नमान्ने र नेता मान्न लाज मान्ने भनेर प्रतिउत्तर दिएका छन् । चौधरीले कोइरालाप्रति अझ माथि उठेर आफूलाई निर्वाचन हराएकोदेखि आफू पनि निर्वाचन लडेर जितेर आएकोसम्मको उत्तर दिएका छन् । राजनीतिको चक्र सँधै एकै ठाउँमा घुम्दैन भन्ने सबैको बुझेकै हुनुपर्दछ । विनाद चौधरी हिजो एउटा नाड.्गो पसलेका छोरा वा नाति थिए । तर आज उनको सम्पत्ति विश्वमा गणना हुने अवस्थामा पुगेको छ । अर्को कूरा नेपालको अर्थतन्त्रमा उनको पनि ठुलो योगदान छ ।
कांग्रेसले चौधरी जस्ता आर्थिक तथा सामाजिक रुपमा देशले चिनेको मान्छेलाई राजनीतिमार्फत पनि देश विकासमा लगाउन सकिन्छ भनेर प्रवेश गराएको हो र उनले कांग्रेसका पक्षमा वकालत गर्दै आएका छन् । यस्तै पार्टीले दिएको जिम्मेवारीलाई पनि उनले पूरा गरिरहेका पनि छन् । तर डा. शेखर जस्तो नेताले यस्ता कूरा उठाउँदा उनलाई नै सहि बनाउने तप्काले भविष्यमा शेखरलाई नेता बनाउँलान् भन्ने विश्वास गर्न सकिने अवस्था देखिएको छैन । यस्तै बैठकमा राहरि खतिवडामाथि लागेको आरोप प्रष्ट पार्नेदेखि प्रकाशमान सिंहसहित मन्त्रीहरुले आफ्नो मन्त्रालयको कार्यप्रगतीका विषयमा पार्टीलाई जानकारी गराएका छन् । यो पनि एउटा सकारात्मक पक्ष हो ।
यस्तै पार्टी सरकारमा रहँदा त्यसका कमजोरीलाई केलाउने हिम्मत गर्ने र विपक्षीको जस्तो भूमिका देखाउन सक्कने नेता अर्जुननरसिंह केसीले पनि पार्टी सञ्चालन र सरकारको काम कारबाहीप्रति निकै चासो राख्नु राखेका छन् । केसीले लिखित रुपमा नै पेश गरेका कुरा तर्फसंगत देखिन्छन् । पार्टी महाधिवेशन कहिले गर्नेदेखि सरकारको काम कारबाही प्रतिको दृष्टिकोण केसीले उठाएका छन् । आइतबार बोलेका डा.प्रकाशशरण महतले पार्टी कमजोर भएकोदेखि क्रियाशिल सदस्य व्यवस्थापनमा देखिएको कमजोरीलाई पनि प्रष्ट रुपमा उठाएका छन् ।
यस्तै अन्य नेताहरुका विचार पनि पार्टीका लागि मार्गनिर्देश हुने खालका नै छन् । मुख्य कुरा कांग्रेसका भातृ संस्थाहरुलार्य तदर्थ रुपमा सञ्चालन गर्न नहुनेदेखि क्रियाशिल सदस्य विरणका विषयमा उठेका सवाल निकै जायज छन् । अब यसलाई कांग्रेसले मनन् गर्नु जरुरी छ । भित्र जसरी जे कूरा उठाएको भएपनि कांग्रेसले अब आफूलाई परिमार्जन गरेर कांग्रेस एक छ र बलियो छ भन्ने सन्देशकासाथ अघि बढ्न सक्नुपर्दछ ।
डा. महतले भनेजस्तै कांग्रेसको जनमत साच्चै कमजोर बाटोतर्फ लम्किरहेको छ । कांग्रेसप्रति जनविश्वास कमजोर हुँदै गएको छ । सरकारप्रति जनता सन्तुष्ट छैनन् भन्ने कुरा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुले पनि देखाउँछ । अब कांग्रेस यहि अवस्थामा रहेर जनताको मन जित्न सक्दैन । यसका लागि कांग्रेसले आफूलाई परिवर्तन गर्नु जरुरी छ । आम रुपमा उठेका शलावहरुका विषयमा कांग्रेस जवाफदेही हुन सक्नुपर्दछ । देशमा बढेको बेरोजगारी, भ्रष्टाचार नियन्त्रण जस्ता कुरामा कांग्रेस जवाहदेही हुँदै १५ औं महाधिवेशनमार्फत पार्टीको नेतृत्वतहमा युवाहरुलाई अघि बढाउन सके मात्रै कांग्रेस बलियो हुनसक्छ । चेतना भया ।