
काठमाडौं । आफ्ना सभापति पक्राउको विरोधमा सडक आन्दोलन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता कार्यकर्ता पक्राउको विरोध गरेको छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई शान्तिपूर्वक भेला हुने र विचार अभिव्यक्त गर्ने स्वतन्त्रता मौलिक हकको रूपमा प्रत्याभूत गरेको स्मरण गराउँदै रास्वपाले आफ्ना नेता–कार्यकर्ता पक्राउको विरोध गरेको हो। मंगलबार राजधानीको बालुटार प्रधानमन्त्रत्री निवास अगाडि भएको प्रदर्शनमा प्रहरीले सो पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो ।
पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको दाबी गर्दै शान्तिपूर्ण प्रदर्शनमा राज्यले अनावश्यक बल प्रयोग गरेर तनावपूर्ण स्थिति सिर्जना गर्ने प्रयास गरिरहेको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको वक्तव्यमा उल्लेख छ।
मंगलबार शान्तिपूर्ण प्रदर्शनमा सहभागी ५१ जनालाई प्रहरीले बलपूर्वक पक्राउ गरी दुर्व्यवहार गरेको भन्दै वक्तव्यमा भनिएको छ, ‘शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको अधिकारविरुद्ध राज्य पक्षबाट भएको दुर्व्यवहारप्रति घोर भर्त्सना गर्दै गिरफ्तार भएका सबैलाई विनासर्त तत्काल रिहाइको माग गर्दछौँ।
शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोज्ने सरकारको रवैयाको निन्दा गर्दछौँ।’शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हक हनन गर्दै सरकारले लोकतान्त्रिक मूल्य–मान्यतामा प्रहार गरिरहेको रास्वपाले बताएको छ। ‘अन्यायका विरुद्ध ऐक्यबद्धता जनाउन आमजनसमुदायलाई अपिलसहित नागरिकको अधिकार हनन हुने कुनै पनि गतिविधि नगर्न सरकारको ध्यानाकर्षण गर्दछौँ,’ वक्तव्यमा भनिएको छ।