
गाउँपालिकाको तर्फबाट जेष्ठ प्रतिष्ठानमा रहेका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै सुर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तस्बिर,सुर्यगढी गाउँपालिका
विदुर । नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिकाले देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान जेष्ठ नागरिक सेवा आश्रमको लागि दुई लाख बराबरको नगद तथा जिन्सी सहयोग गरेको छ ।

मंसिर ३ गते सोमबार देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको कार्यालयमा नै पुगेर गाउँपालिका अध्यक्षसहितको जनप्रतिनिधिहरुको टोलीले सहयोग गरेको हो ।
गाउँपालिका अध्यक्ष घलेका अनुसार पालिकाको तर्फबाट भोजन तथा प्रशासनिक व्यवस्थापन खर्चको लागि नगद १ लाख र ज्येष्ठ नागरिकहरुको लागि न्यानो कपडा १ लाख बराबर सहयोग गरेको हो ।

पालिकाले न्यायो कपडा भने आफैले वितरण गरेको थियो । कार्यक्रममा अध्यक्ष घले, वडा नं २ का वडा अध्यक्ष दीपक अधिकारी र ३ नम्बरको पूर्व वडा अध्यक्ष बाबुराम पौडेलले न् न्यानो कपडा वितरण गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष घलेले जेष्ठ नागरिकको सेवा गर्नु राज्यको दायित्व र कर्तव्य भएकाले आफूहरुले सहयोग गरेको बताउनुभयो ।
सो अवसरमा प्रतिष्ठानका तर्फबाट अध्यक्ष विष्णु नेपाल, बिन्दा अर्याल,बसन्तजंग ठकुरीसहितका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । सहयोग प्राप्त भएसँगै प्रतिष्ठानले पालिकाप्रति धन्यवाद ज्ञापन गरेको छ ।

विगत १५ वर्षदेखि सञ्चालनमा रहेको उक्त प्रतिष्ठानमा ३६ जना ज्येष्ठ नागरिकहरु आश्रित रहेका छन् । यस्तै सूर्यगढीका नागरिक मात्रै ४ जना रहेको बताइएको छ । जिल्लाको एकमात्र जेष्ठ नागरिक प्रतिष्ठान भएकाले सरकारी तथा अन्य संस्थाहरुले सहयोग गर्दै आएका छन् । जसले गर्दा प्रतिष्ठान सञ्चालनका लागि सहज भएको छ ।