
फाइल तस्बिर
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा जागरणसभाको आयोजना गर्दैछ । जागरण सभा नाम दिइएको प्रदर्शन अपराह्न साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको हो ।
समाजमा बढ्दो अराजकताकाविरुद्ध खबरदारी गर्न र सरकारका कामहरू जनस्तरसम्म पु¥याउन जागरण सभाको आयोजना गरिएको एमालेले जनाएको छ ।एमालेको आजको सभालाई एमालेको शक्ति प्रदर्शनका रुपमा समेत हेरिएको छ । पछिल्लो समय एमाले र सिंगो लोकतन्त्रमाथि प्रहार भएको भन्दै शान्ति र लोकतन्त्रको पक्षमा लाखौं जनता सडकमा आउने दावी गरेको छ । सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गनुहुने बताइएको छ ।
सभा अघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने तालिका छ ।
सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौँसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो सङ्ख्यामा मानिस ल्याउने तयारी गरेको छ ।
राजधानीमा एमालेको सभासहित सहकारीपीडितकोसमेत प्रदर्शनसमेत हुने भएपछि सुरक्षा व्यवस्था बलियो पारिएको प्रहरीले जनाएको छ । सवारी चाप व्यवस्थापन गर्न पनि आवश्यक योजना बनाइएको ट्राफिक प्रहरीले जनाएको छ ।