
विदुर । नेपाली कांग्रेस नुवाकोटकी नेतृ गीता अमात्यलाई मातृशोक परेको छ । लामो समयदेखि स्वास्थ्य उपचार गराउँदै आउनु भएकी अमात्यकी ममतामयी माता भद्रकुमारी अमात्यको आज मंसिर ६ गते ८२ वर्षको उमेरमा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं २ बट्टार निवासी अमात्यका तीन छोराहरु ओमराज अमात्य, उत्तमराज अमात्य र रेशमराज अमात्य तीनै जना नेपाली कांग्रेसको क्रियाशिल सदस्य हुन ।
नुवाकोट जिल्लामा कांग्रेस राजनीतिमा सक्रिय अमात्य परिवारमा परेको शोकप्रति नेपाली कांग्रेस नुवाकोटले दुःख व्यक्त गरेको छ । पार्टी सचिव श्रीराम श्रेष्ठले आज एक शोक वक्तव्य जारी गर्दै महासमिति सदस्य गीता अमात्य तथा कांग्रेस क्रियाशिल सदस्यहरु ओमराज,उत्तमराज र रेशमाज अमात्यको ममतामयी माताको निधनप्रति पार्टीको तर्फबाट दुःख व्यक्त गर्दै स्वर्गीय आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
साथै विज्ञप्तिमार्फत शोकसन्तप्त परिवारजनामा समवेदना समेत प्रकट गरिएको छ । साथै कांग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय अमात्यको पनि योगदान रहेको स्मरण समेत गरेको छ ।
यसैबीच नेपाली कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले पनि अमात्यको असामयिक निधनको खबरले अत्यन्त मर्माहत भएको उल्लेख गर्नुभएको छ ।
केसीले सामाजिक सञ्जालमार्फत शोकको दुःखद घडिमा मोक्ष प्राप्त आत्माको चिरशान्तिको कामना गर्नुका साथै मातृशोकमा रहेका शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस भनि गहिरो समवेदना प्रकट गर्नुभएको छ । कांग्रेसका अन्य नोतहरुले पनि अमात्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
