
काठमाडौँ — काठमाडौँको तारकेश्वर नगरपालिका ८ मा लामबगरमा शनिबार बिहान पिक एण्ड ड्रपको क्रममा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ । यस्तै बसका सहचालक घाइते भएका छन् ।
दुर्घटनामा परी नुवाकोटको ककनी गाउँपालिका ५ का ४५वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका १ घर भई हाल तारकेश्वर बस्ने ५८ वर्षीय सुन्तली ओझाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । घाइते भएका तीन जना मध्ये दुई जनाको उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । बसका सहचालक गोरखाका १७ वर्षीय निशान विष्टको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । जरंखुबाट नेपालटारतर्फ आउँदै गरेको बा ४ ख ७१११ नम्बरको भाडाको बसले पिक एण्ड ड्रपको क्रममा यात्रु ओराल्ने विषयमा विवाद हुँदा दुर्घटना भएको हो ।

ुबसले पिक एण्ड ड्रप गर्ने क्रममा एक जना यात्रु खसेको र पछि सहचालकसँग विवाद हुँदा अर्को जना यात्रुसहित सहचालक विष्ट पनि बसबाट खसेको पाइएको छ,घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले भने,विस्तृतमा हामी अनुसन्धान गरिरहेका छौँ । उक्त स्थानमा प्रहरीले बसलाई केही समय घेरेर राखेको थियो ।
स्थानीयहरु आक्रोशित रुपमा बस जलाउने भन्दै आक्रामक बनेपछि प्रहरीले बसलाई सुरक्षा दिन घेरा हालेर बसेको थियो । पछि आपसी सहमतिमा बाटो भने खुलाइएको छ । स्थानीयहरुले उक्त क्षेत्रमा चल्ने बसहरुको गति सधै बढि हुने भन्दै पटक पटक वडा अध्यक्ष तथा प्रहरीलाई खबर गर्दा पनि सुनुवाई नभएको गुनासो समेत गरेका छन् । उक्त क्षेत्रको अहिलेको अवस्था भने सामान्य रहेको छ ।