
काठमाडौं । नेकपा माओवादी केन्द्रले पालिका उपचुनावको परिणाम उत्साहजनक भएको निश्कर्ष निकालेको छ । साथै उसले आउँदो चुनावमा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको ठकर समेत गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
माओवादीले एक प्रमुख र २ उपप्रमुखसहित ६ वटा वडा अध्यक्ष जितेको छ । अन्य सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडालगायत ठाउँमा भारी मतान्तरले विजयी हुनु, काठमाण्डौको कीर्तिपुर नगरपालिकासहित १२ ठाउँमा उल्लेख्य मत पाउनुलाई नागरिकमा माओवादीप्रति बढेको विश्वास र उत्साहको रूपमा लिइएको प्रवक्ता सापकोटाले बताउनुभयो ।
नागरिकसँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीका रूपमा लिँदै माओवादीले आफ्नो वर्गप्रति फर्कने अभियान शुरु गरेको प्रवक्ता सापकोटाको भनाइ छ । बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।