
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनको नतिजा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको केन्द्रीय कार्यासम्पादन समितिको बैठकबाट उपनिर्वाचनको परिणामलाई सन्तोषजनक रहेको निश्कर्ष निकालेको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । “हामी अहिले पनि ठूलो पार्टीका रूपमा स्थापित भएका छौँ ।
महत्त्वपूर्ण ठाउँहरूमा हामीले जितेका छौँ । र, यो परिणामलाई हामीले सन्तोषजनक ठानेका छौँ,” कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीसित भने । ४४ स्थानमा भएको उपनिर्वाचनमा कांग्रेसले १९ स्थानमा जितेर पहिलो पार्टी बन्न सफल भएको छ । यस्तै माओवादीले ७ र एमालेले सात स्थानमा मात्रै जितेका छन् । कांग्रेसले २ जिल्ला समन्वय प्रमुख, एक गाउँपालिका अध्यक्ष र अन्य सबै वडा अध्यक्षमा जित हासिल गरेको हो।
यस्तै बैठकले बीआरआईमा ऋण स्वीकार नगर्ने पार्टीको अडान कायमै राखेको पनि डा. महतले जानकारी दिए । बैठकले कोषाध्यक्ष पदमा उमेश श्रेष्ठलाई मनोनीत गर्ने सभापतिको निर्णय बैठकबाट अनुमोदन गरिएको छ ।
समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा सुनीता थापालाई सिफारिस गर्ने निर्णय गरिएको पनि डा. मतहले जानकारी दिए । स्थानीय तहको उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमणपछि कांग्रेसले पार्टीको बैठक बसेर पहिलो पटक आधिकारिक धारणा सार्वजनिक गरेको हो । बैठकमा कार्यसम्पादन समितिका अधिकांश सदस्यहरुको उपस्थिति रहेको थियो ।