
हेटौडा । नेपाल पत्रकार महासंघको २९ औं महाधिवेशन अन्तर्रगत बागमती प्रदेशमा ३७ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीसहित १९ सदस्यीय कार्यसमितिका लागि ३७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।प्रदेश अध्यक्षका लागि प्रेस युनियन र चौतारीका तर्फबाट वर्तमान अध्यक्ष शिव देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रेस सेन्टरसहितका संगठनहरुको समर्थनमा महासचिव कृष्ण सारुमगरले अध्यक्षका लागि उम्मेदवारी दर्ताको गराएका छन् । प्रदेश अध्यक्षमा दुई जनाको मात्रै उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्षमा खुलामा भोला प्रसाद पौडेल र हरिप्रसाद हुमागाईले मनोनयन दर्ता गरेका छन् ।
महिला उपाध्यक्षमा गिता अधिकारी र बिमला पाण्डेको उम्मेदवारी परेको छ । महासचिवका लागि राजन दाहाल र राधेश्याम खतिवडाले मनोनयन दर्ता गराएका छन् भने सचिवमा शशिधर सुमन गैरे, र ईश्वरप्रसाद खतिवडाले उम्मेदवारी दिएका छन् । समावेशी सचिवमा काजी श्रेष्ठ र चन्द्रकला खत्रीको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा सन्तोष भुजेल र शंकर अधिकारीको उम्मेदवारी परेको छ । सदस्यहरुमा समावेशी रुपमा २० जनाएको उम्मेदवारी परेको छ ।
अध्यक्षमा देवकोटा र मगरबीच प्रतिस्पर्धा

अध्यक्षमा वर्तमान अध्यक्ष शिव कोटा र कृष्ण सारु मगरबीच प्रतिस्पर्धा हुने भएको छ । नुवाकोटमा रहेर पत्रकारिता गर्दै आएका देवकोटा वर्तमान अध्यक्ष तथा प्रेस युनियनबाट लामो समय राजनीति गर्नुका साथै पत्रकारितामा २०५४ सालदेखि नै क्रियाशिल छन् । देवकोटा ट्ेर्ड युनियन आन्दोलनमा पनि उत्तिकै सक्रिय छन् । उनले प्रेस युनियन केन्द्रीय सदस्य, बागमती प्रदेश इन्चार्ज भएर काम गरिसकेका छन् ।
यस्तै सारु मगर हेटौडा बसेर पत्रकारिता गर्दै आएका छन् । मगर प्रदेश महासचिव हुँदै गर्दा उनको भूमिका प्रभावकारी देखिएको थियो । यस पटक उनले अध्यक्षको जिम्मेवारी लिन चाहेका छन् । पटक पटक स्थगित भएको महासंघको निर्वाचन यस पटक भने सुनिश्चित भएको छ ।
यसअघि महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको थियो । २८ गते हुने निर्वाचनमा सहभागी हुन सम्पूर्ण सदस्यले विधानबमोजिमको शुल्क भुक्तानी गरेको हुनुपर्ने निर्वाचन समितिले विज्ञप्तिमा जनाएको छ ।

