
काठमाडौँ। मंसिर अन्त्यसँगै राजधानीमा निकै चिसो बढेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । राजधानीको मौसम सफा रहेपनि चिसो भने निरन्तर बढ्ने विज्ञहरुको भनाई छ ।
जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार आज बिहानको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको छ । आज उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।
अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छभने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।
प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।उता चिसोसँगै राजधानीमा चल्ने हावा पनि निकै खतरनाक भएको बताइएको छ । जसले गर्दा बिहानको मौसममा हिड्दा सचेत अपनाउन पनि आग्रह गरिएको छ ।