
विदुर । पत्रकार महासंघ नुवाकोटको निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारीबीचको साझा गठबन्धन र प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबीचको अर्को गठबन्धनका अध्यक्षको उम्मेदवारको मत बराबर भएपछि आधा —आधा कार्यकाल नेतृतव गर्ने गरि सहमति भएको छ ।

युनियन र चौतारीका साझा उम्मेदवार नवराज सुवेदी र सेन्टर र समाजवादीका साझा रामहरि गजुरेलले बराबरी भोट प्राप्त थिए । उनीहरु दुबैले ३३ मत प्राप्त गरेपछि अर्को निर्वाचन गर्ने कि सहमति भन्ने विषयमा हिजोदेखी भएको छलफल आज निश्कर्षमा पुगेको हो । दुवै पक्षको सहमति अनुसार पहिलो कार्यकाल आधा समय युनियनका तर्फबाट सुवेदीले गर्ने छन् भने दोस्रो कार्यकाल सेन्टरका तर्फबाट गजुरेलले गर्नेछन् । सोही आधारमा निर्वाचन समितिले दुवै अध्यक्षलाई प्रमाणपत्र प्रदान गरेको छ ।
यस्तै अधिवेशनबाट उपाध्यक्षमा माओवादी निकट पत्रकार जगदीश खनाल विजयी भएका छन् । उनले चौतारीका श्रीराम अधिकारी पराजित गरेका हुन् । महिला उपाध्यक्षमा प्रेस युनियनकी उम्मेदवार आत्मा गुरागाई विजयी भइन्, उनी प्रेस युनियनको केन्द्रीय सदस्य समेत छिन् । उनले समाजवादीकी जमुना गजुरेललाई पराजित गरेकी हुन । यस्तै सचिवमा सुनिल श्रेष्ठ विजयी भए भने सुजित भण्डारी पराजित हुन पुगे ।
यस्तै कोषाध्यक्षमा युनियनका तर्फबाट उम्मेदवार बनेका सुरज सिलवाल विजयी भएका छन् भने सेन्टरका विष्णुप्रसाद अधिकारी पराजित हुन पुगे । सहसचिवमा केदार ढकाल विजयी भएका छन् भने समाजवादी प्रेस संगठनबाट उम्मेदवार बनेका हरि भेटवाल पराजित हुन पुगे । महिला सहसचिवमा मनिषा सापकोटा विजयी भएकी छिन् । उनले सेन्टरबाट उम्मेदवार बनेकी प्रितिका थापालाई पराजित गरिन ।
सदस्यहरुमा अञ्जली प्याकुरेल, सज्जन उत्सुक सापकोटा,प्रल्हाद पु्डासैनी,पुण्यप्रभा ढुंगाना,सुनिता विक , पार्वती गुरुड. र करुणा लामिछाने विजयी भएका छन् । केन्द्रीय पाषर्द सदस्यमा देवचन्द्र भट्ट र विष्णु जम्कटेल विजयी भएका छन् । उनीहरु दुवै चौतारीका हुन । यस्तै प्रदेश पार्षदमा आशिष ढुंगाना,किरण अधिकारी, विनय बन्जरा, र भरत शन्तोषी लामा विजयी भएका छन् । किरण र विजय युनियनका हुन भने लामा र ढुंगाना सेन्टरका हुन । पत्रकारमहासंघ नुवाकोटमा ८० सदस्य रहेकोमा ६९ मत मात्रै खसेको थियो ।
त्यसमा अध्यक्षको ४ मत भने खाली भेटिएको थियो । बाहिरी रुपमा गठबन्धन भनिएपनि मत परिणाम हेर्दा गठबन्धनको भावना अनुसारको परिणाम भने आउन सकेको देखिएन । चौतारी र युनियनको मत लाई सबै सदस्य जित्ने सम्भावना देखिएको भएपनि एकले अर्कोमाथि भएको भन्दै दुवै संगठनमा असन्तुष्टि बढेको एक पत्रकारले नुवाकोट पुकारलाई बताए । उता जिल्लामा क्रियाशिल कतिपय पत्रकारहरुको नाम नभएको सर्वसाधारणले समेत चिन्ता जाहेर गरेको देखिन्थ्यो । जिल्लामा बसेर दैनिक काम गरेका वास्तविक पत्रकारहरु निर्वाचनमा सहभागि नभएको देख्खा विदुरबासीहरु नै चकित परेका थिए ।