
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा जित नजिक पुग्नु भएको छ । पत्रकार महासंघको ६९ वर्षे इतिहासमा महिला नेतृत्व पाएको यो पहिलोपटक हो । यसले आम महिलाहरुमा निकै उत्साह छाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालका अनुसार जिल्ला र प्रदेशले पठाएका विवरण रुजु गरेर चुनावी नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको छ ।
अबको एक डेड घण्टामा आधिकारिक रुपमा नतिजा सार्वजनिक हुने सम्भावना छ । अनौपचारिक रुपमा संकलन गरिएको मतमा शर्मा एक हजारभन्दा बढी मतान्तरले विजयी हुने निश्चित भएको छ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् । यस्तै केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने देखिएको छ ।
कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् ।नुवाकोटका अधिकारीले आफ्नो भगबाट समेत राम्रो मत पाएका थिए । महासंघको अध्यक्षमा शर्मासँग युनियनका विद्रोही रमेश विष्ट प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थनमा प्रतिस्पर्धा गरेका थिए । देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि अध्यक्षको उम्मेदवार थिए । तर उनीहरुले खासै प्रभावकारी मत ल्याउन सकेको देखिदैन ।