
क्षेत्रपाल माविका विद्यार्थीहरुले वर्षाको पानीलाई सिञ्चित र शुद्ध गरी प्रयोग गरिने प्रदर्शनीमा सहभागि र विद्यालयका विज्ञापन शिक्षक गोपाल बस्नेत ः तस्बिर क्षेत्रपाल मावि
नुवाकोट । नुवाकोट जिल्लामा भएको जिल्ला स्तरीय शैक्षिक प्रदर्शनीमा क्षेत्रपाल माध्यमिक विद्यालय प्रथम भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले शुक्रबार विदुर १ त्रिशुलीमा आयोजना गरेको प्रदर्शनीमा क्षेत्रपालले ८४.६६ प्रतिशत प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो ।
लिखु गाउँपालिका वडा नं ४ चौघडामा रहेको उक्त विद्यालयका विद्यार्थीहरुले वर्षाको पानीलाई सिञ्चित र शुद्ध गरी प्रयोग गरिने प्रदर्शनी गरेका थिए । विद्यार्थीहरुको उक्त प्रदर्शनी निकै उत्कृष्ट थियो । विगतमा पनि यस्ता अतिरिक्त क्रियाकलापमा क्षेत्रपाल माविले उत्कृष्टता हासिल गर्दै आएको छ । नमुना विद्यालयको रुपमा रहेको क्षेत्रपाल अध्यापनका हिसावले पनि जिल्लामा उत्कृष्ट विद्यालयको रुपमा गनिएको छ ।

यस्तै यसैगरी ग्रामसेवा मावि द्वितीय (८१.६६), घ्याङफेदी मावि तृतीय (७६.६६) र बागेश्वरी माविले सान्त्वना (७४.३३) स्थान हासिल गरेका छन् । विजेता विद्यालयहरुले क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैँया नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुमार बस्नेत र विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जितले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
जिल्लाका ११ विद्यालयहरुले सहभागिता जनाएको प्रदर्शनीमा हिरामणि शर्मा, मोहन ढकाल र सुनिल भण्डारीले मुल्यांकनकर्ताको भूमिका खेलेका थिए । प्रदर्शनीना तयार गरिएको सामग्रीको पाठ्यक्रम, कच्चा पदार्थ, निर्माणमा मौलिकता तथा नविनता, उपयोगिता र प्रस्तुतिकरणको आधारमा मुल्यांकन गरिएको इकाई प्रमुख बस्नेतले जानकारी दिए ।
विद्यार्थीबाटै विद्यालय शिक्षाका उद्देश्यमा आधारित विषयगत पाठ्यक्रमअन्तर्गतका स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्मित जीवनोपयोगी निर्माण तथा आविष्कारका सामग्री प्रदर्शनीमा प्रस्तुत गरिएको क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
यसैबीच क्षेत्रपाल माध्यमिक विद्यालयले प्रदर्शनीमा क्षेत्रपाल मावि चौघडा नुवाकोटले प्रथम स्थान हासिल गरेकोमा सहभागी मिहिनेती विद्यार्थी भाइबहिनीहरू तथा अहोरात्र खटेर विद्यालयको गरिमालाई उच्च बनाउनुहुने विज्ञान विषय शिक्षक गोपाल बस्नेत बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयले आफ्नो फेसबुक पेजमार्फत शिक्षक र विद्यार्थीलाई बधाई दिएको छ ।