
पत्रकार सम्मेलनमा बोल्दै नेता भीम रावल,तस्बिर ः नुवाकोट पुकार डटकम
काठमाडौं । नेकपा एमाले बाट निष्कासित भएका नेता भीम रावलले नयाँ पार्टी घोषणा नगरी मातृभूमि जागरण अभियान चलाउने घोषणा पनि गरेका छन् । एमालेबाट निकालिएपछि आज पहिलो पटक राजधानीको बबरमहलस्थित कार्की ब्यांकेटमा पत्रकार सम्मेलन गरी रावलले यस्तो घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा नेता रावलले ३१ बुँदे दस्तावेजमा ७४ बुँदा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरेर खर्च गरेका छन् । पत्रकार सम्मेलनमा केही भावुक त केही आक्रोशित भएका रावलले एमालेमा ५ दशक लामो संगठित सदस्यता खोसेपछि नयाँ बाटो खोज्न बाध्य भएको बताए । पत्रकार सम्मेलनमार्फत नयाँ पार्टीको घोषणा गर्ने चर्चा थियो । तर, उनले नयाँ पार्टीको घोषणा गरेनन् ।
यद्यपि, रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । उनले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका छन् । देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ,उनले भनेका छन् ।
देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्ने उनको भनाइ छ । राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरि हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ धारणालाई बलियो गरी अबलम्वन गर्नुपर्छ । राजनीति दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ, उनले भनेका छन् ।
उनले आफ्नो दस्तावेजमा भनेका छन्,यसका लागि विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थरूपमा दृढताका साथ हिँड्नुपर्छ यस्ता मान्यताहरूको आधारमा देश र जनतासंग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ। यसैतर्फ हाम्रो पाइला र प्रयासहरू अगाडि बढ्ने छन् ।
रावलले केपी ओलीलाई प्रश्न गर्दा अर्थमन्त्री विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीमाथि गम्भीर प्रश्न उठाएका छन् । ओलीकै निर्देशनमा अख्तियारले उनीहरूमाथि मुद्दा नचलाएको ओलीको छ । “ललिता निवासको जग्गा अवैधरूपमा लिएका पार्टीका महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीले फिर्ता गर्छु भनेको भन्दै अख्तियारले मुद्दा नचलाएको तपाईं (केपी शर्मा ओली)कै निर्देशनमा भएको होइन र ? ” रावलले भने, “कसैले चोरेको सामान फिर्ता गर्छु भन्दैमा चोरीमा कारबाही नहुने कानुन छ र ? ” नेता रावलले आफूले पार्टी छाडेको भनेर प्रचार गरिएको भन्दै आपत्ति पनि जनाए ।
एमाले महासचिव शंकर पोखरेलले आफूलाई पार्टी छाडेको भनेर भ्रम छरेको उनको भनाइ छ । रावलले भनेका छन्, यही पुस १० गते सचिवालयको बैठकबाट मलाई पार्टी सदस्यबाट निष्कासित गर्ने र त्यसबारे पार्टीका उपमहासचिवले सञ्चारकर्मीलाई जानकारी गराउने तर निर्णय भएको दुई दिन पछि महासचिवले भीम रावललाई हामीले निकालेका होइनौँ आफैँ छोडेर गएको होु भनी सार्वजनिक अभिव्यक्ति दिनुले झुटा र भ्रमको आधारमा चल्ने चरित्रको थप पर्दाफास हुँदैन र ? रावललाई एमालेले पार्टी हित विपरित कार्य गरेको भन्दै संगठित सदस्य समेत नरहने गरि हटाएपछि उनले नयाँ बाटो समातेका हुन ।