
काठमाडौं । सत्ता र पदका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई अर्को धक्का लागेको छ ।
बामदेवको पार्टीबाट उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्य अलगिएका छन् । आज आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गर्दै नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारी समेत समेत गरेका छन् ।
अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छाडेका छन् ।
उनीहरुले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी ४ सदस्य वार्ता समितिसमेत गठन गरेका छन् । वार्ता समितिको संयोजक अर्याल रहेका छन् भने काफ्ले, सुब्बा र भट्टराई उक्त समितिमा सदस्य रहेका छन् । गौतमले यसअघि एकिकृत समाजवादीसँग एकता गर्ने निर्णय गरिसकेका थिए । तर उनले फेरि समाजवादीलाई समेत धोका दिँदै एमालेसँग एकताको प्रयास गरेपछि पार्टीका अधिकांश नेताहरु माओवादीसँग एकताको अभियानमा लागेका छन् ।
वामदेव निःशर्त ढंगले एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको उनीहरुले बताए । एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरुको निष्कर्ष छ ।