काठमाडौं, जेठ २९, — नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको संसदमा निरन्तर अनुपस्थिति, मौनता तथा संसदीय उत्तरदायित्वप्रतिको बेवास्ताप्रति गम्भीर आपत्ति जनाउँदै यसले संसद र जनताप्रतिको उपेक्षा झल्काएको बताएका छन्।
प्रतिनिधिसभाको शून्य समयमा आफ्नो धारणा राख्दै केसीले प्रधानमन्त्रीको संसदमा उपस्थित हुने वा नहुने विषय व्यक्तिगत रुचि वा लहडको विषय नभएको उल्लेख गरे। उनले प्रश्न गर्नु नागरिकको अधिकार र संसदमा सांसदको विशेषाधिकार भएको बताउँदै प्रश्न उठाउने सांसदलाई “तपाईंको काण्डको फाइल खोल्छौँ” भन्ने अभिव्यक्ति संसदीय मर्यादामाथिको अपमान भएको टिप्पणी गरे।
केसीले संसद धम्की, नाराबाजी वा प्रदर्शनको थलो नभई तर्क, बहस र नीति विमर्शको सर्वोच्च मञ्च भएको उल्लेख गरे। राष्ट्रियतासँग सम्बन्धित गम्भीर विषयमा समेत प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद र जनताप्रतिको उपेक्षा भएको उनको भनाइ थियो।
उनले प्रधानमन्त्रीले आफ्नो दायित्व वारेसमार्फत निर्वाह गर्नु संसदप्रतिको घोर अपमान र खेदजनक कार्य भएको उल्लेख गर्दै शक्ति सन्तुलन र नियन्त्रण प्रक्रियामा अत्यधिक केन्द्रीकरण हुनु चिन्ताजनक रहेको बताए। स्थापित संसदीय अभ्यास र संस्थागत गरिमालाई कुण्ठित पार्ने प्रवृत्तिले अस्थिरता र निरंकुशताको प्रारम्भिक संकेत दिन सक्ने चेतावनीसमेत उनले दिए।
सभामुखसहित सबै राजनीतिक दल र सांसदहरूलाई संसदीय प्रणालीको गरिमा, उत्तरदायित्व र लोकतान्त्रिक मूल्यप्रति गम्भीर बन्न आग्रह गर्दै केसीले संसदको प्रभावकारी सञ्चालन र कार्यपालिका जवाफदेहिताको सुनिश्चितता आवश्यक रहेको धारणा राखेका छन् ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्