
देश र जनताका लागि लड्ने त्यस्ता वीर सपूतहरु जो इतिहासका कालखण्डमा सँधै उत्तिकै अमर र अजर हुने गर्दछन् । ति वीर सहिदहरु जसलाई आज माघ १८ गते सिंगो देशले सम्झिरहेको छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने त्यस्ता अमर व्यक्तित्वहरु अर्थात सहिदप्रति सम्मान गर्दै देशभर आज सहिद दिवस मनाइँदै छ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध ,प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ । हामीले मुख्य त वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।
माघ १६ गते शहीद दिवको मुख्य दिनका रुपमा मनाउने गरिएको भएपनि विगत वर्षहरुबाट साताव्यापी रुपमा सहिद दिवस मनाउन थालिएको छ । यसले सहिदहरुप्रतिको सम्मान र आस्था बढाएको देखिन्छ । नेपालको इतिहासमा सहिदहरुको स्मरण गर्दैगर्दा चार जना त्यस्ता योद्धाहरुको नाम हरेक नेपालीको मानसपटकमा अझ ताजै रहन्छ । विसं १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । तिनै सहिदहरुले सुरु गरेको त्यो क्रान्तिमार्फत नै देशले आज लोकतान्त्रिक शासन व्यवस्थाको अनूभुत गर्न पाएको छ ।
पछिल्लो तथ्थाड्.कलाई हेर्ने हो भने देशले झण्डै ८ हजार सहिदको गणना गरेको छ । १९९३ पछिका हरेक क्रान्तिमा आफ्नो ज्यान आहुती दिएका त्यस्ता योद्धाहरु हाम्रा लागि एह महान हुन । जसले आफ्नो जीवन देशका लागि सुम्पिएका छन् । तर पछिल्लो समय सहिदका विषयमा पनि विवाद सिर्जना गर्न खोजिएको छ । यति महत्वपूर्ण र पवित्र शब्दमा पनि खेलबाड हुनु पक्कै पनि सहि मान्न सकिदैन । राज्यका लागि योगदान गर्नेहरुका विषयमा राज्यले शहीद घोषणा गर्ने पर्दछ । तर अन्य कारणले मारिएकाहरुलाई पनि सहिदका रुपमा सम्मान गर्नुपर्ने केही यस्ता घटना र दवाव छन् तिनले शहीदप्रति अपमान गरेको देखिन्छ । यसतर्फ राज्यको ध्यान पुग्नुपर्दछ ।
अर्कोतर्फ देश र जनताका लागि जुन उदेश्यकासाथ शहीदले आफ्नो जीवन अर्पेका थिए त्यो अनुसार राजनीतिक तहबाट देशलाई अघि बढान सकेको देखिदैन । व्यवस्था त शहीको योगदानबाट नै स्थापित भएको छ । तर त्यसपछिका दिनमा आम नागरिकले त्यो व्यवस्थाबाट आफ्नो जीवनलाई पनि सहज बनाउन सकेनन् भने व्यवस्था पनि आफैमा अभिसाप बन्न सक्छ ।
समय देश गणतान्त्रिक व्यवस्थाको एक उच्चतम अधिकारकासाथ अघि बढिरहेको छ । नागरिकले आफ्ना हक अधिकार प्राप्त गरेका छन् । तीन तहको सरकार रहेको छ । तर वास्तविक रुपमा देशले आर्थिक प्रगती गर्न सकेको छैन । देशमा गरिबी, वेरोजगारी,भ्रष्टाचारका काण्डहरु बढिरहेका छन् । बेरोजगारीका कारण लाखौं युवाहरु देश छाड्न बाध्य छन् । किसानले आफ्नो आवश्यकता अनुसारको मल,बिउ पाउन सक्दैनन् । व्यापार व्यवसाय सुस्त हुन पुगेको छ ।
सरकारी तहबाट हुने काम कारबाही पनि पारदर्शी हुन नसकेका धेरै उदाहरण छन् । यसले गर्दा आम रुपमा व्यवस्थाप्रतिको वितिष्ढा बढ्दै जान खोजिरहेको देखिन्छ । यसको सम्पूर्ण जिम्मेवारी राजनीतिक दलको काधमा नै जान्छ । यस्तै अवस्था देशले व्यहोरिरहने हो भने भोलिमा दिनमा देश बुढाखाडामात्रै हुने त होइन भन्ने चिन्ता सुरु भैसेकेको छ । अब यो अवस्थाको अन्त्य गर्दै देशलाई समुन्नत बनाउन राजनीतिक दलहरुले ढिला गर्नु हुँदैन ।
लोकतन्त्रको उदेश्य अधिकार पाउनु मात्रै होइन आर्थिक रुपले समुन्नत हुनु पनि हो । देश जति धनी भयो जनता त्यति समुन्नत हुनछन् । विश्वले यहि सिकाएको छ । हामी अब त्यो बाटोमा अघि बढौं । तबमात्रै हाम्रा ति तमाम शहीहरुको आत्माले शान्ति पाउने छ । शहीद दिवसका अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धासुमन ।