
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नुवाकोटको शेरा दरबारमा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जोड्न सकिन्छ कि भनेर लागेको दाबी गर्नुभएको छ।
आजको प्रतिनिधिसभा बैठकमा अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको समेत यो विषयमा चासो रहेको र आफूलाई जोड्न खोजिएको आरोप लगाउनुभयो । “नुवाकोटको शेरा दरबारमा कतै न कतै प्रचण्डलाई जोड्न सकिन्छ कि ? जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गर्यो ,” , “प्रधानमन्त्रीजी आफैँ लागेको थाहा छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध भेटिँदैन प्रचण्डको त ? ” उहाँले भन्नुभयो ।
पूर्व प्रधानमन्त्री दाहालले सबै नेता उस्तै हुन् भन्ने भाषा मञ्जुर नभएको दावी गर्दै शेरा दरबारमा आफू जोडिए छानबिन गर्न समेत चुनौती दिनुभयो । “शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् । बेला–बेला क्यान्टोनमेन्ट भनेर गीत गाएको सुन्छु । छानबिन गरे भयो त,” प्रचण्डको भनाइ छ ।
नुवाकोटको विदुर नगरपालिका शेरामा रहेको पृथ्वीनारायणको शाहको गृहकालिन दरबार माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री भएका बेला उहाँको सहयोगीहरुले खरिद गरेको भन्दै विगतदेखि नै समाचार आइरहेको छ । सोही विषयलाई लिएर दाहालले संसदबाट नै यस्तो चुनौती दिनुभएको हो ।
अध्यक्ष दाहालले झण्डै एक घण्टा लामो आफ्नो सम्बोधनका क्रममा सरकारले ल्याएको विधेयकको पनि विरोध गर्नुभएको थियो । उहाँले सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिकाको के काम भन्दै प्रश्न गर्नुभयो । उहाँले कांग्रेस एमालेले साना थ्रेस होल्डका विषयमा साना दलहरुलाई रोक्न खोजेको भन्दै त्यदि त्यो लागू गरे भोलि कांग्रेस एमालेलाई नै गारो पर्ने चेतावनी समेत दिनुभयो । व्यवस्थापिका संसद सुरु भएसँगै दाहालको यो पहिलो सम्बोधन हो ।