
नुवाकोट । नुवाकोट जिल्लाको पुरानो अस्पताल त्रिशुली अस्पतालमा बिरामीहरुका लागि सेवाहरु थपिने क्रम जारी रहेको छ । यसै क्रममा अस्पतालले प्रयोगशालाको रिपोर्ट अब आफैले प्रिन्ट गर्न र हेर्न सक्ने मेसिन जडान गरेको छ ।
अस्पतालमा आज (शनिबार)आयोजित एक कार्यक्रममा विस्तारित अस्पताल फार्मेसी र ल्याब रिपोर्ट अटो प्रिन्टर मेसिनको उदघाटन गरिएको छ । बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले सो मेसिनको उदघाटन गर्नुभएको हो । कार्यक्रममा मेयर श्रेष्ठले अस्पतालले नुवाकोटमात्र नभई छिमेकी जिल्ला धादिङ र रसुवाका सेवाग्राहीलाई समेत सेवा दिदै आएकोले अस्पतालको सेवा थप बिरामीमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बागमती प्रदेश सिटिइभिटीका निर्देशक डा. शान्ति लामा लगायतले अस्पतालको विस्तारित सेवाबाट सेवाग्राही थप लाभान्वित हुने बताउनु भएको छ ।
कार्यक्रमा अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले अस्पतालले प्रदान गर्ने सेवाहरूलाई प्रभावकारी बनाउन विस्तारित सेवा शुरु गरिएको जानकारी दिनुभयो । सो अवसरमा अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाले यस्ता सुविधाले प्रयोगशाला रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने र बिरामीको समयको बचत हुने विश्वास व्यक्त गर्नुभयो ।

निर्देशक डा. लामाका अनुसार उक्त सेवा विस्तार सँगै बिरामीले प्रयोगशालाको बिलमा भएको बारकोड मेसिनमा राखेर रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्ने भएका छन्’ । अस्पतालले सुरु गरेको यो मेसिन कमै मात्रै अस्पतालमा हुने गरेको छ ।
जिल्लाको पुरानो अस्पतालमा तीन जिल्ला नुवाकोटसहित धादिङ र रसुवाका नागकिरले सेवा लिदै आएका छन् । पछिल्लो समय अस्पतालमा अत्याधुनिक सेवासहित विशेषज्ञ चिकित्सकहरुबाट समेत सेवा दिँदै आएको छ । जसले गर्दा दैनिक सयौं बिरामीहरुले सेवा लिँदै आएका छन् ।