विराटनगर जेठ ३१ — नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता अध्यावधिक, संगठन सञ्चालन र आगामी महाधिवेशनको तयारीलाई लिएर असन्तुष्टि बढिरहेका बेला संस्थापन इतर समूहले आइतबार विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको छ।
पार्टीभित्र देखिएका विवाद, कार्यकर्ताका गुनासा र नेतृत्वप्रतिको असन्तुष्टिलाई केन्द्रमा राखेर आयोजित भेलामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ।
भेलालाई सम्बोधन गर्दै कांग्रेसका नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, बलबहादुर केसी,एनपी साउद कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायत नेताहरूले पार्टीभित्र एकता, संवाद र सहकार्यको आवश्यकता औंल्याए।
कार्यक्रममा बोल्दै डा. शशांक कोइरालाले विशेष महाधिवेशनको बहसले कांग्रेसभित्र विभाजनको अवस्था सिर्जना गरेको उल्लेख गर्दै महामन्त्री गगन थापाले थप लचिलो भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले पार्टी नेतृत्व सामूहिकताभन्दा व्यक्तिगत रूपमा अघि बढ्न खोजेको आरोपसमेत लगाए।
पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीका पुराना र निष्ठावान कार्यकर्ताको क्रियाशील सदस्यता खारेज गर्ने प्रयास भइरहेको भन्दै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए। उनले लामो समयदेखि कांग्रेसका लागि योगदान दिएका कार्यकर्तालाई कमजोर पार्ने प्रयास अस्वीकार्य रहेको बताउँदै पार्टीभित्र बढ्दो असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नेतृत्वलाई आग्रह गरे।
“सिद्धान्त र विचारका आधारमा राजनीति गर्दै आएका कार्यकर्तालाई किनारा लगाउने प्रयास भइरहेको छ,” कार्कीले भने, “हामी पार्टीलाई कमजोर बनाउन होइन, अझ सुदृढ र एकताबद्ध बनाउन यहाँ भेला भएका हौं।”
नेता बलबहादुर केसीले कांग्रेसको लामो इतिहास र बलियो संगठनात्मक आधार रहेको उल्लेख गर्दै कुनै व्यक्ति वा समूहको चाहनाले पार्टी विभाजन हुन नसक्ने दाबी गरे। उनले मतभेदलाई संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिए।
पूर्वसांसद सरिता प्रसाईंले पनि नेतृत्वको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र भइरहेका छलफल र भेलालाई सकारात्मक रूपमा लिनुपर्ने बताइन्। उनले उपसभापति विश्वप्रकाश शर्माप्रति संकेत गर्दै एकताको उद्देश्यले आयोजित कार्यक्रमलाई आशंकाको दृष्टिले हेर्नु उचित नभएको धारणा राखिन्।
प्रसाईंले नेपाली कांग्रेस कमजोर हुँदा त्यसको असर देशको समग्र राजनीतिक स्थिरतामा पर्ने उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरिन्। संविधान र लोकतान्त्रिक व्यवस्थामाथि चुनौती देखिएको भन्दै उनले यस्तो अवस्थामा कांग्रेसभित्र थप अन्योल र विभाजन हुन नहुने बताइन्। आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै उनले कार्यकर्ताको भावना र सुझावलाई बेवास्ता गरे चुनावी परिणाममा नकारात्मक असर पर्न सक्ने चेतावनीसमेत दिइन्।
कोशी प्रदेश कांग्रेस समितिका महामन्त्री भूपेन्द्र राईले कार्यक्रम कुनै गुट विशेषको स्वार्थका लागि नभई पार्टीभित्र संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आयोजना गरिएको स्पष्ट पारे। उनका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका प्रतिनिधिहरूले संगठनको अवस्था, सदस्यता नवीकरण, महाधिवेशनको तयारी तथा पार्टीभित्र देखिएका समस्याबारे आफ्ना धारणा राख्नेछन्।
पछिल्लो समय कांग्रेसभित्र सबैभन्दा बढी विवादित विषय क्रियाशील सदस्यता नवीकरण प्रक्रिया बनेको छ। संस्थापन इतर पक्षका नेताहरूले सदस्यता व्यवस्थापनको नाममा सक्रिय कार्यकर्तामाथि अन्याय भइरहेको आरोप लगाउँदै आएका छन्। उनीहरूको भनाइमा पार्टीको मूल विचार र मूल्यलाई आत्मसात् गरेका कार्यकर्ताभन्दा बाहिरबाट आएका व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको छ।
विराटनगरमा सुरु भएको यो भेला कांग्रेसभित्रको शक्ति सन्तुलन, आगामी महाधिवेशनको समीकरण र संगठनात्मक बहसका दृष्टिले महत्वपूर्ण मानिएको छ। कार्यक्रममा नेताहरूको सम्बोधन तथा प्रतिनिधिहरूको धारणा प्रस्तुत गर्ने क्रम जारी रहेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्