
चितवन । बस दुर्घटनामा २५ जना घाइते भएको दुई घण्टा नहुँदै चितवनमा पुनः मिनी ट्रक दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार आइतबार बिहान ६:३० बजे मिनी ट्रक अनियन्त्रित भएर सडकमा पल्टिएको हो। इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै बर्दियाबाट काठमाडौँतर्फ खसी र बोका लिएर जान लागेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक पल्टिएको हो।
ट्रकमा रहेका १४३ वटा खसी र बोका मध्ये १९ वटा च्यापिएर मरेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो। दुर्घटनामा मानवीय क्षति भएको छैन।
यसअघि आइतबार बिहानै नारायणगढ-मुग्लिन सडकको सेतिदोभानमा भएको बस दुर्घटनामा २५ जना घाइते भएका थिए। घाइतेको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ, जहाँ दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।