विदुर ।, बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौंडाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत कल्याणीदेवी माध्यमिक विद्यालय, बेलकोटगढी–८, नुवाकोटमा सञ्चालन गरिएको कृत्रिम बौद्धिकता (AI) तथा साइबर सुरक्षा सम्बन्धी ४० सेसन (६० घण्टा) को विशेष प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको समापन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार पुडासैनीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। समारोहका प्रमुख अतिथि वडा अध्यक्ष सुरेश लाल चित्रकार रहनुभएको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष भिम प्रसाद पुडासैनी र प्रधानाध्यापक बुद्धि प्रसाद पुडासैनी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रमलाई शिक्षक प्रेम बहादुर रोकाय, पशुपति ढुङ्गाना, फोकल शिक्षक राम प्रसाद न्यौपाने, साइबर सुरक्षा तथा कानुनी विषयका प्रशिक्षक अधिवक्ता गोकर्ण पुडासैनी तथा IT स्रोत शिक्षक निराजन खतिवडाले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले यस्ता प्रविधिमैत्री तथा चेतनामूलक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
समापन अवसरमा सहभागी विद्यार्थी तथा प्रशिक्षक शिक्षकहरूलाई प्रमुख अतिथि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षद्वारा प्रमाणपत्र वितरण गरिएको थियो।
प्रमुख अतिथि सुरेश लाल चित्रकारले विद्यालयलाई उक्त महत्वपूर्ण कार्यक्रमका लागि छनोट गरेकोमा शिक्षा विकास निर्देशनालय, हेटौंडाप्रति धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरूलाई AI र साइबर सुरक्षासम्बन्धी सिकाइलाई अध्ययन, अनुसन्धान तथा व्यवहारिक जीवनमा उपयोग गर्न आग्रह गर्नुभयो। साथै आगामी माध्यमिक तहको परीक्षामा उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो।
प्रधानाध्यापक बुद्धि प्रसाद पुडासैनीले कार्यशालाबाट प्राप्त ज्ञानलाई अध्ययनसँग जोड्दै डिजिटल युगमा आवश्यक कानुनी तथा साइबर सुरक्षासम्बन्धी सचेतना व्यवहारमा उतार्न सुझाव दिनुभयो।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार पुडासैनीले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने शिक्षा विकास निर्देशनालय, प्रशिक्षकहरू, अधिवक्ता, IT स्रोत शिक्षक, फोकल शिक्षक, सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभयो।
AI र साइबर सुरक्षाजस्ता समसामयिक तथा भविष्यमुखी विषयमा आयोजित यस प्रशिक्षणले विद्यार्थीहरूमा डिजिटल सीप, प्रविधिप्रतिको रुचि तथा जिम्मेवार साइबर व्यवहार विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्