विदुर । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत सफलता हासिल गरी उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यार्थी तथा शिक्षकहरूलाई कल्याणीदेवी माध्यमिक विद्यालयले सम्मान गरेकाे छ।
विद्यालयबाट एसईई परीक्षामा सहभागी २६ जना विद्यार्थी सबै ग्रेडेड भई शतप्रतिशत सफलता हासिल गरेपछि विशेष सम्मान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सफल विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै उनीहरूको उज्ज्वल भविष्य तथा आगामी शैक्षिक यात्राको सफलताको शुभकामना आदान–प्रदान गरिएको थियो।
सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार पुडासैनीले विद्यार्थी तथा शिक्षकहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले आफ्नै व्यक्तिगत खर्चमा कार्यक्रम आयोजना गर्नुभएको थियो। कार्यक्रममा सम्पूर्ण शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयले २०८१ सालमा पनि नगरपालिकाभित्र शतप्रतिशत उत्तीर्ण गराउने विद्यालयको रूपमा पहिलो स्थान हासिल गरेको थियो। यस वर्ष पनि उत्कृष्ट नतिजा कायम राख्दै विद्यालयले आफ्नो शैक्षिक गुणस्तरलाई थप सुदृढ बनाएको छ।
कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको सहयोगकै कारण विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताएका थिए। साथै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
विद्यालय परिवारले शतप्रतिशत सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी शैक्षिक जीवनका लागि शुभकामना व्यक्त गरेको छ ।



नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्