
रुपन्देही । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शङ्कास्पद रुपमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार राती नै गरिएको छ ।
उनलाई भैरहवाको स्वर्गद्वारी घाटमा अन्तिम विदाई गरिएको हो । मध्यरात्रीमै अन्त्येष्टि गरिए पनि उनको अन्त्येष्टिमा सर्वसाधारणहरूको ठूलो उपस्थिति रहेको थियो ।
भारतबाट गोरखपुर हुँदै करिब ९ बजे नै प्रकृतिको पार्थिव शरीर भैरहवा आई पुगेको थियो । उनको बुवा लगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो ।

करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर वडा नम्बर ८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धाञ्जली दिई १२ बजे पछि मात्र बाहिर निकालिएको थियो । शवयात्रामा आफन्त सँगै उनलाई अन्तिम श्रद्धाञ्जली दिन कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत् उनका सहपाठीहरूको पनि उपस्थिति रहेको थियो । शवलाई राती नै भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पु¥याएर उनको अन्त्येष्टि गरिएको थियो । प्रकृतिलाई उनको हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए ।
२०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको यही आइतबार शङ्कास्पद रुपमा मृत्यु भएको थियो । उनको शव भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेको थियो । यस सम्बन्धमा भारतीय प्रहरीले एकजनालाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ ।