
नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत नुवाकोटले विभिन्न समयमा जरिवाना सजाय तोकी फरार रहेका तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी ब्रिकम लामाले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आईतवार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्यागङ गाउँपालिका वडा नम्बर ३ का अमरबहादुर तामाङ, बेलकोटगढी नगरपालिका वडा नम्बर ६ का बुद्धिमान तामाङ र लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाका मुनहरि मगर रहेका छन् ।
जसमध्ये अमरबहादुरलाई हातहतियार तथा खरखजाना शीर्षकमा जिल्ला अदालत नुवाकोटले ५ महिना ११ दिन कैद र २० हजार रुपैयाँ जरिमाना तोकेको थियो । यस्तै बुद्धिमान तामाङलाई पशुपंक्षी सम्बन्धि कसुरमा ८ महिना ८ दिन फैसला सुनाएको थियो । त्यस्तै चौघडाको मगरलाई सवारी ज्यान मुद्धामा एक महिना ६ दिन कैद र दुई हजार रुपैयाँ जरिमाना फैसला सुनाएको थियो । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत नुवाकोटमा बुझाईएको छ ।