
विद्यार्थीहरुको हक हितका लागि स्थापना भएको स्वतन्त्र विद्यार्थी युनियन पछिल्लो समय राजनीतिक दलको युवाहरुका लागि राजनीति गर्ने थलोको रुपमा मात्रै परिणत भएको छ । त्रिभुवन विश्वविद्यालय अन्र्तरगतका क्याम्पसहरुमा शैक्षिक तथा संस्थागत सुधारका लागि क्रियाशील रहने संस्थाको रुपमा यसलाई स्थापना गरिएको हो । विद्यार्थीका आफ्ना समस्या आफैँले समाधान गर्न परिकल्पनो गरिएको स्ववियुका आज खस्कदो अवस्थामा पुगेको छ ।
स्ववियु राजनीतिकभन्दा पनि विद्यार्थीको हक अधिकारका लागि निर्माण गरिएको साझा संस्थाका भएकाले विश्वविद्यालयमा स्ववियुलाई राजनीतिक क्रान्तिको अब्बल संस्थाका रूपमा विगतमा लिने गरिन्थ्यो । तर पछिल्ला वर्षहरुमा यसको महत्व र आवश्यकतालाई विद्यार्थीहरु आफैले भद्दा बनाउँदै जाँदा यसको शाख र महत्व दुवै घट्दै गएको छ । पछिल्लो वर्षहरुमा त राजनीति भन्दा बाहिर रहन चाहने र रहेकाहरु स्ववियु भएको क्याम्पसमा अध्ययन गर्न नै जान नचाहाने स्थिति बनेको थियो । जसका कारण पनि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको धेरै क्याम्पसहरु विद्यार्थीविहिन बन्न समेत पुगेका थिए ।
मुलुकमा बहुदलीय व्यवस्था स्थापना पश्चात विद्यार्थीहरु आफैले आफ्नो समस्या समाधानका लागि स्ववियुमार्फत अघि बढ्नु राम्रो कुरा थियो । स्ववियु राम्रो र सहि अवस्थामा रहने हो भने यसले विद्यार्थीहरुको हक अधिकार र गुणस्तरीय शिक्षाका लागि काम गर्न सक्थ्यो । तर देशका मुल पार्टीका नेताहरुको छत्र छायाँमा स्ववियुलाई पार्ने काम भएपछि यसको गर्भिलो इतिहासमा नै कालो बादल लाग्न थाल्यो । यस्ता अनेकन विवादकाका कारण स्ववियुु निर्वाचन नियमित हुन सकेन । पछिल्लो दुई वर्षदेखि भने यसलाई नियमित गर्ने प्रयास भएको छ । सोही प्रयास अनुसार यस वर्ष पनि त्रिवी अन्र्तरगतका ६२ क्याम्पसमा सोमबार २५ विद्यार्थी संगठन युनियन दर्ता गरेका छन् । आज बुधबार फागुन २१ गते विद्यार्थीहरुको नामाली सार्वजनिक हुँदैछ । अन्य प्रक्रिया पूरा गरेर आगामी चैत्र ५ गते निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । सोही कार्यतालिकालाई पछ्याउँदै विद्यार्थी संगठनहरु निर्वाचनमा होमिएका छन् ।
स्ववियु आफैमा एउटा राम्रो पक्ष हो । यसलाई चलाउनेहरुले भद्दा मजाक बनाएका कारण केही वर्ष यसको औचित्यमाथि प्रश्न उठेको थियो । तर अब यो नियमित प्रक्रियातर्फ अघि बढेको छ । अब यसलाई मर्न दिनु हुँदैन । विद्यार्थी संगठन भनेको लोकतन्त्रको एउटा मेरुदण्ड हो । जब देश तानाशाही अवस्थामा जान खोज्छ तब विद्यार्थीहरुले नै त्यसलाई रोक्ने ताकक राख्दछन् ।
नेपालमा भएका ठुला आन्दोलनमा विद्यार्थीहरुले नै नेतृत्व गरेका इतिहास ताजै छ । गतवर्ष श्रीलंकामा विगतमा विद्यार्थीहरुले नै शासन व्यवस्था परिवर्तन गरिदिए । यसले यो संगठनको महत्व र गरिमा धेरै छ भन्ने बुझ्न कठिन छैन । अबका दिनमा राज्य तह र विद्यार्थी संगठन दुवैले यसको मर्म र भावनालाई बुझेर सोही अनुसार स्ववियु सञ्चालनमा योगदान गरुन् । यसको गर्भिलो इतिहास कायम रहोस् । निर्वाचनका लागि शुभकामना ।