
विदुर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत नेपाली कांग्रेसभित्रका एक वौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ । नुवाकोट जिल्लाको पञ्चकन्या २ साविक कविलास गाउँपालिकामा जन्मनु भएका डा. महत विद्यार्थी कालदेखि नै राजनीतिमा होमिनु भयो ।
नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै पार्टीको केन्द्रीय सदस्य, प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्नु भएका डा. महत पराजित हुनुभयो । तर सभापति देउवाले आफ्ना विश्वासपात्र डा. महतलाई प्रवक्तामा नियुक्त गर्नुभयो । जसले उहाँलाई पदाधिकारीकै हैसियत प्राप्त भयो । सोही भूमिकाका कारण डा. महत समाचारका पानामा छाइरहने गर्नुहुन्छ ।
राजनीतिकसँगै राज्य संयन्त्रको तहमा पनि डा. महतले आफ्नो भूमिक निर्वाह गरिसक्नु भएको छ । उर्जा,परराष्ट् हुँदै गत वर्षमात्रै अर्थमन्त्रीको जिम्मेवारी पूरा गरिसक्नु भएको छ । प्रचण्डको नेतृत्वमा अर्थमन्त्री बन्नु भएका डा. महतले मुलुककको अर्थतन्त्रलाई लयमा ल्याउन नसकेको आरोप लागेपनि उहाँले त्यसको विपरित अर्थतन्त्रलाई जोगाउने काम गर्नुभएको थियो । जसलाई माओवादी अध्यक्ष दाहालले आफै पुष्टि गर्नुभयो । कांग्रेससँगको गठबन्धन तोडेसँगै दाहालले डा. महतले माओवादीका पूर्व लडाकूलाई पैसा बाढ्न नदिएको गुनासो गर्नुभएको थियो । जसले प्रष्ट हुन सकिन्छ कि महतले गलत काम गर्न प्रधानमन्त्रीलाई सहयोग गरेन्् । अर्कोतर्फ हक्की स्वभावका महत स्पष्ट बोल्ने र बोलेका कुरा पूरा गर्ने नेतामा पर्नुहुन्छ । पार्टी सभापति देउवाका निकट भएका कारण देउवाको समर्थन गर्नु स्वभाविक हो,तर धेरैले उहाँलाई देउवाको आर्शिवादबाट मात्रै नेता बनेको आरोप लगाउछन् । यो कुरा डा. महतका लागि स्वीकार्य छैन । उहाँले भन्नुभयो , म विद्यार्थी कालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय भएको हुँ, म आफ्नो बलले नेता बनेको हुँ, देउवाजीसँग नजिक हुँदैमा मात्रै अवसर पाएको होइन । डा. महत दुई पटक समानुपातिकबाट सांसद हुँदै मन्त्री बन्नु भएको हो ।
२०७४ मा आफ्ना दाजू डा. प्रकाशशरण महत नुवाकोट क्षेत्र नं १ बाट निर्वाचन लड्ने भएपछि उहाँ काठमाडौं क्षेत्र नं ५ मा निर्वाचन लड्नुभयो । तर पराजित हुनुभयो । दोस्रो पटक अर्थात २०७९ मा दाजु महत निर्वाचनमा भाग नलिने स्थितिकाबीच कांग्रेस र माओवादीबीच गठबन्धन भयो, क्षेत्र नं १ माओवादीले लियो र २ मा कांग्रेस नेता अर्जुननरसिंह केसी निर्वाचन लड्नु भयो । त्यस पटक पनि डा. महत समानुपातिकमा पर्नुभयो । तर अबको पटक अर्थात २०८४ मा हुने निर्वाचनका लागि भने डा. महतले नुवाकोट क्षेत्र नं १ मा निर्वाचन लड्ने तयारी गर्नुभएको छ । दाजू डा. रामशरण महतले लगातार ४ पटक निर्वाचन लडेको उक्त क्षेत्र अब आफूमा ल्याउने कसरत डा. महतको देखिन्छ ।
आफ्नो जन्मथलो र र दाजुसँगै आफुले गरेको योगदानस्वरुप क्षेत्र नं १ मा निर्वाचन लड्ने डा. महतको घोषणा अस्वभाविक छैन तर सोही क्षेत्रमा जन्मिएर पनि हालसम्म निर्वाचन लड्न नपाएको केसी परिवारको आँखा पनि १ तर्फ फर्किएको छ । केसी परिवार डा. रामशरणपछि उक्त क्षेत्र आफ्नो विरासतमा ल्याउने प्रयासमा लागेको देखिन्छ । अर्जुननरसिंह केसीले सो क्षेत्रमा आफ्ना सहोदर भाइ डा. केदार वा जगदीश्वर मध्ये १ लाई निर्वाचन लडाउने विषयमा भित्री योजान बनाउँदै आउनु भएको छ । जसले गर्दा महतका लागि सो क्षेत्र अझै सहज छैन । तर सम्भावना उहाँको देखिनु स्वभाविक हो । सोही आधारमा महतले क्षेत्र नं १ लाई विकास निर्माणका प्राथमिकतामा राख्नु भएको देखिन्छ ।
विकास निर्माणका काम होस् वा नेता कार्यकर्तालाई दिने प्राथमिकतामा क्षेत्र नं १ नै परेको देखिन्छ । यद्यपि उहाँले कुन क्षेत्रबाट निर्वाचन लड्ने भन्ने खुलाउनु भएको छैन तर उहाँको भित्री तयारी र उहाँ निकट नेता कार्यकर्ताका विचार अनुसार क्षेत्र नं १ नै रोज्ने देखिन्छ । जसलाई पछिल्ला दिनमा भने महतले पुष्टि गर्दै आउनु भएको छ । केही दिनअघि क्षेत्र नं १ को एक कार्य विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गर्दै भन्नुभयो “मैले प्रत्यक्ष चुनाव नलडेर पनि नुवाकोटमा धेरै विकासका काम गरे अब आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्नेछु,“ उहाँले कांग्रेस पार्टी कुरामा भन्दा काममा विश्वास राख्ने दल भएको उल्लेख गर्दै, पार्टीका नेता कार्यकर्तालाई कांग्रेसका उपलब्धिहरू प्रचार गर्न पनि आग्रह गर्नुभयो ।
महतको यो घोषणाले अब निर्वाचन लड्ने कुरामा शंका नभएको उहाँ निकट नेता अर्जुन न्यौपानेले बताउनु भयो, उहाँले भन्नुभयो, डा.साप क्षेत्र नं १ बाट नै निर्वाचन लड्नु हुन्छ, यसमा दुईमत छैन । त्यसोत डा. महतको यो निर्णयले कांग्रेसमा एक पटक राम्रै हलचल ल्याएको छ । यो हलचल र तरंगलाई फरक फरक रुपमा टिका टिप्पणी भैरहेका देखिन्छन्् । उता क्षेत्र नं २ मा भने बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो राजनीतिक केन्द्रको रुपमा विकास गर्दै हुनुहुन्छ । मुख्य मन्त्री लामाले विकास निर्माणका अधिकांश योजना क्षेत्र नं २का आयोजनाहरुलाई विगतरण गर्नुभएको छ । यसले लामा क्षेत्र नं २ लाई आफ्नो निर्वाचन क्षेत्र बनाउने दाउँमा रहेको देखिन्छ ।