
काठमाडौँ — संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । गत फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको हो ।
पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको भएको महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
महासंघले काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्लाई आग्रह गरेको छ । पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पत्रकार तथा सञ्चारमाध्यलाई समेत महासंघले ध्यानाकर्षण गराएको छ ।
सचिवालयका अनुसार पत्रकार श्रेष्ठ र ओलीले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा तानाशाहु र हिटलरु जस्ता अमर्यादित शब्दहरू प्रयोग गरेका थिए । संसद्का महासचिवको निर्णयअनुसार उनीहरूको प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको सचिवालयले जनाएको छ । प्रकाश ओली सुनौलो नेपाल र किशोर श्रेष्ठ युवा मन नेपालमा कार्यरत पत्रकार हुन् ।
