
विदुर । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको विषयलाई आक्रोशित विद्यार्थीहरूले स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड गर्दै कुर्सी, टेबल र झ्यालका सिसाहरू फुटाएको घटनाप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।
निर्वाचनको विषयमा छलफल भैरहेका बेला यस्तो हर्कत भएको भन्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) नुवाकोटले घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै आपत्ति जनाएको हो ।।
संघका जिल्ला अध्यक्ष रामकृष्ण भट्टद्वारा जारी प्रेस विज्ञप्तिमा विप्लव नेतृत्वको विद्यार्थी संगठन (अखिल समाजवादी)ले निर्वाचन प्रक्रियामा अराजक गतिविधि गरेको आरोप लगाइएको छ।विज्ञप्तिमा, स्ववियु निर्वाचन स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुनुपर्ने नेविसंघलें माग गरेको छ । साथै, क्याम्पस प्रशासन र निर्वाचन समितिलाई कुनै पनि बहानामा निर्वाचनबाट पछि हट्न नदिने चेतावनी दिइएको छ। नेविसंघले लोकतान्त्रिक प्रक्रियामा आस्था राख्ने विद्यार्थीहरूलाई निर्वाचन सुनिश्चित गर्न सहयोग पुर्याउन अपिलसमेत गरेको छ।
आगामी चैत ५ गतेका लागि तय गरिएको स्ववियु निर्वाचनमा क्याम्पसमा ६ वटा विद्यार्थी संगठन प्रतिस्पर्धामा छन्। ती संगठनहरूमा नेविसंघ, अखिल क्रान्तिकारी, अखिल समाजवादी, नेविसंघ (बीपी), समाजवादी विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) सामेल छन्।
घटनामा केही विद्यार्थी घाइते भएका छन् भने निर्वाचन अधिकृत पूर्णबहादुर सडौलाको हात मर्किएको बताइएको छ। सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि माइन्युट च्यातेपछि अवस्था तनावग्रस्त बनेको थियो। विप्लव नेतृत्वको विद्यार्थी संगठनले माइन्युट च्यातेपछि विवाद चर्किएको प्रहरीले जनाएको छ ।
यस्तै स्वतन्त्र विद्यार्थी युनियनका सभापति रविन दाहालले पनि घटनाप्रति आपत्ति जनाउँदै तोडफोडको कार्य निन्दनीय भएको बताएका छन् । नुवाकोट पुकारसँग कुराकानी गदै गर्दै सभापति दाहालले छलफलका माध्यमबाट समाधान खोज्नु भन्दा तोडफोड गर्नु निन्दनीय भएको बताए ।